Search
Close this search box.

स्थानीय पाठ्यक्रम लागु

प्युठानको मल्लरानी गाउँपालिकाले चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समेत छपाइ गरी पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको हो। गाउँपालिकाभित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाइ हुने गरेको छ।

संस्थागत विद्यालयमा कक्षा ७ र ८ मा र सामुदायिकमा १ देखि ८ सम्मै पढाइ हुन्छ। स्थानीय तहको स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सीप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवनपद्धति, कला संस्कृति, वेशभूषा, भाषा, स्थानीय विकासका पूर्वाधारहरू, विपत् व्यवस्थापन र सुरक्षालगायतका क्षेत्र समावेश गरिएको छ।

माण्डवी गाउँपालिकाले २०७९ देखि स्थानीय पाठ्यक्रम तयार गरेर लागु गरेको शिक्षा शाखा प्रमुख तुलसी कार्कीले जानकारी दिनुभयो। “कक्षा १ देखि ४ सम्म पाठ्यपुस्तक निर्माण भएको छ, छाप्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “कक्षा ५ देखि ८ सम्मको यो वर्ष लेखनको तयारीमा छौँ।” पालिका भित्रका २६ वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको उहाँको भनाइ छ। 

केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधका लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएको हो। 

नौबहिनी र सरुमारानी गाउँपालिकाले १–५ को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिसकेको छ भने ६–८ को निर्माणको क्रममा छ। गौमुखी गाउँपालिकाले कक्षा ५ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ। ऐरावती गाउँपालिकाले १–८ को पाठ्यक्रम बनाएर लागु गरिसकेको छ भने पाठ्यपुस्तक छाप्ने क्रममा रहेको छ। स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका र झिमरुक गाउँपालिका स्थानीय पाठ्यक्रम बनाउने क्रममा रहेको जनाइएको छ।  गोरखापत्रबाट

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan