Search
Close this search box.

जनप्रिय माविका सहित वक्तृत्वमा चार विद्यार्थी पुरस्कृत

१६औं पुस्तकालय दिवसको अवसरमा पुष्पलाल स्मृति पुस्तकालय र साहित्य संगम मकवानपुरद्वारा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १६ विद्यालयका कूल ३९ प्रतियोगिले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा जेनिथ इन्टरनेसनल सेकेण्डरी स्कूल (हेटौँडा सिटी कलेज) की छात्रा कुसुम खड्का प्रथम, ज्ञानदीप शिक्षा (जिएस) निकेतनकी प्रतिष्ठा कार्की द्वितीय, ब्रह्मदिक एकेडेमीकी प्रियान्शु पोखरेल तृतीय र जनप्रिय मावि कि छात्रा एरिना चौलागाईँले सान्त्वना स्थान प्राप्त गरेका हुन्। विजेता विद्यार्थिलाई क्रमशः प्रथम स्थानलाई २ हजार, द्वितीय १ हजार ५ सय, तृतीय १ हजार र सान्त्वनालाई ५ सय रहेको थियो भने साथमा सम्मानपत्र र साहित्यिक पुस्तकहरू उपहार रहेका थिए ।

आयोजक दुवै संस्थाका स्थापनाकार तथा सल्लाहकार, बुढ्यौली साहित्य समाजका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेले सभाध्यतामा गरेकी हुन् । कार्यक्रममा साहित्य सेवी मुक्तिगोविन्द वैद्य, पुस्तकालय महासंघ सदस्य गोविन्द चौलागाईँ, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेलगायत अतिथि रहेका थिए ।

प्रतियोगितामा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाल र संस्थाका कोषाध्यक्ष तथा प्राध्यापक मनोज पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका हुन् ।

बोल्ने कलामा निपुण रहेकामा बधाई तथा शुभकामना भन्दै निर्णायक मण्डल संयोजक भावना सापकोटाले विद्यार्थीहरूलाई विषयवस्तुको व्यापक खोज, अध्ययन गर्न तथा घोक्ने परम्परालाई अन्त्य गर्दै बुझ्ने परम्पराको विकास गर्दै रचनात्मक शैलीमा प्रस्तुति गर्नका लागि सुझाव दिएकी थिईन् ।
प्रमुख अतिथि रिजालले भने विद्यार्थीहरू स्कूलदेखि यस्ता औपचारिक कार्यक्रममा सहभागी हुनु भएकोमा त्यो नै आधाआधि जीत भएको र निरन्तर अघि बढ्न प्रेरित गरेका थिए ।

कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव सबिता तिमल्सिना, समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, नव साहित्य डट कमका पत्रकार एवम् हास्यव्यङ्ग्यकार संप्रस पौडेल, विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
पुस्तकालय प्राङ्गणमा आयोजित कार्यक्रमलाई संगम सचिव डिबी बर्तौला तथा सदस्य सुनिल गौतमले सहजीकरण गर्नु भएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan