Search
Close this search box.

जेसीआई चैनपुर र हाँडीखोला क्वाटरफाइनलमा

हेटौंडा– जेसीआई चैनपुरको आयोजनामा मनहरी गाउँपालिका–३ मा जारी जेसीज कप खुला फुटबल प्रतियोगितामा आयोजक चैनपुर र हाँडीखोला एफसी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो खेलमा आयोजक चैनपुर जेसीजले जनसिद्ध युवा क्लवलाई ५–० गोलले हराएको हो । जेसीजको तर्फबाट सञ्जिव गिरीले ह्याट्रिक गर्दा उत्सव खड्का र सुशील सुनारले एक÷एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चैनपुरले पाँचै गोल दोस्रो हाफमा गरेको थियो । ह्याट्रिक गरेका गिरी नै खेलको म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा लामिटार एफसीलाई टाइब्रेकरमा हराउँदै हाँडीखोला एफसीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा लामिटारले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । टाइब्रेकरमा हाँडीखोलाको तर्फबाट ४ गोल हुँदा लामिटारबाट २ गोल मात्रै भएको थियो । लामिटारको दुईवटा प्रहारलाई हाँडीखोलाका गोलरक्षक सुदिप गुरुङले बचाएका थिए । उनी नै खेलको म्यान अफ द म्याच भए । प्रतियोगितामा शनिबारबाट क्वार्टरफाइनल चरणका खेल सञ्चालन हुनेछ । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार र ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । खेलमा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan