उच्च जोखिममा मकवानपुरका सिमसार

हेटौँडा – मकवानपुरमा रहेका सिमसार क्षेत्रहरू उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । २०७२ को भूकम्प, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण सिमसार क्षेत्रहरू जोखिममा पर्दै गएको डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले जनाएको छ । जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका सिमसार क्षेत्रहरूको पहिचान र अध्ययन गर्ने क्रममा सो तथ्य खुलेको हो ।

डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गत कार्य क्षेत्रभित्र ९६६ वटा सिमसार स्थलहरूको कुल क्षेत्रफल ४२४२.७९ हेक्टर क्षेत्रफल रहेको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले कार्य क्षेत्रभित्रका सात वटा पालिकामा रहेका सिमसार क्षेत्रको पहिचान, अभिलेखीकरण, प्राथमिकीकरण, संरक्षण तथा व्यवस्थापनका बारेमा अध्ययन गरी तयार गरेको प्रतिवेदनमा करिब दुई तिहाइ सिमसार समुद्री सतहबाट ७३७ मिटरको उचाइभन्दा तलको भूभागमा रहेको उल्लेख छ ।

अध्ययनमा संलग्न डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरका वन अधिकृत विशाल भट्टराईका अनुसार अध्ययनको व्रmममा ९९ वटा सिमसार स्थलको स्थलगत भ्रमण गरी विस्तृत अध्ययन गरिएको थियो । उहाँका अनुसार सात वटा पालिकामा सिमसारको अवस्था अध्ययन गरिएकोमा राप्ती डिभिजनको कार्य क्षेत्रमा सबैभन्दा बढी सिमसारस्थल कैलाश सबडिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र रहेको पाइएको छ । सबैभन्दा थोरै सिमसार चित्लाङ सब–डिभिजनमा पाइएको थियो । यस्तै पालिकामा सबैभन्दा बढी कैलाश गाउँपालिकामा २२७ वटा सिमसार स्थल र सबैभन्दा कम मनहरी गाउँपालिकामा ८३ वटा सिमसार स्थल रहेको अनुमान गरिएको छ । यसै गरी भीमफेदी गाउँपालिकामा १४४ वटा, हेटौँडा उपमहानगरपालिकामा १४९ वटा, इन्द्रसरोवर गाउँपालिकामा १२० वटा, राक्सिराङ गाउँपालिकामा १५० वटा र थाहा नगरपालिकामा ९३ सिमसार रहेको प्रतिवेदनमा उल्लेख छ । सिमसार स्थलहरूमध्ये करिब दुई प्रतिशत ताल वा पोखरी, १३ प्रतिशत नदी वा खोला र ८५ प्रतिशत धापजन्य रहेको अनुमान गरिएको छ । त्यसमध्ये ११ प्रतिशत निजी स्वामित्व र ८९ प्रतिशत सरकारी स्वामित्वका जग्गामा रहेको छ ।

वन अधिकृत भट्टराईले ती सिमसार स्थलहरूले विभिन्न प्रजातिका वनस्पति र वन्यजन्तुलाई आश्रय दिएको र स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिएको पाइएको बताउनुभयो । उहाँका अनुसार अधिकांश सिमसार स्थलको उपयोगिता वा स्वरूप परिवर्तन भएको, धाप वा दलदलयुक्त सिमसार स्थल प्रायः सुकेको, लोप भएको वा अतिक्रमित भएको पाइएको छ । विस्तृत अध्ययन गरिएको ९९ वटा सिमसारमध्ये करिब ३९ प्रतिशत उच्च जोखिममा रहेको छ ।

उहाँले भन्नुभयो, “संरक्षणका लागि जोखिममा परेका सिमसारलाई पहिलो प्राथमिकता दिनुपर्ने देखियो ।” सिमसारको प्रभावकारी संरक्षण र व्यवस्थापनका लागि संरक्षण र पुनस्र्थापना, मिचाहा प्रजाति नियन्त्रण, कानुन कार्यान्वयन, दिगो उपयोग, विस्तृत सर्वेक्षण र समुदायमा आधारित सिमसार व्यवस्थापनको कार्य सँगसँगै लैजानुपर्ने देखिएको छ । राप्ती डिभिजन वनको कार्य क्षेत्रभित्रको ९६६ वटा सिमसार स्थलहरूमध्ये पोखरी वा ताल २० वटा, नदी खोला क्षेत्र ११५ र ८३१ वटा रहेका छन् ।

वन अधिकृत भट्टराईले राप्ती डिभिजन वन कार्यालयको कार्य क्षेत्रमा क्षेत्रफलको हिसाबले सबैभन्दा बढी सिमसार स्थल राक्सिराङ गाउँपालिकामा ८५१.६६ हेक्टर रहेको बताउनुभयो । सबैभन्दा कम मनहरी गाउँपालिकामा २५८.९५ हेक्टर सिमसार स्थल रहेको अनुमान छ । हेटौँडा उपमहानगर र इन्द्रसरोवर गाउँपालिकामा मात्र ताल रहेको छ तर नदी वा खोला र धापजन्य सिमसार स्थलहरू सबै स्थानीय तहमा रहेको छ । नदी वा खोलाजन्य सिमसार स्थलहरूमा इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा बढी ३४२.९६ हेक्टर र धापजन्य सिमसारमा सबैभन्दा बढी ७७३.८३ हेक्टर राक्सिराङ गाउँपालिकामा रहेको अध्ययनबाट देखिएको छ ।गोरखापत्र दैनिकबाट 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...