हेटौँडा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारको अन्तिम चरणमा पुगेको छ । मकवानपुरमा पनि राजनीतिक दल र उम्मेदवारहरु स्थानीय विकास निर्माणका सवालदेखि नीति निर्माणका योजना र आश्वासनसहितको स्थानीय र केन्द्रीय घोषणापत्र बोकेर घरदैलोमा व्यस्त छन् ।
दलहरुले विगतमा जस्तै यो पटकपनि विभिन्न नाममा घोषणापत्र सार्वजनिक गरेका छन् ।
निर्वाचनमा सहभागी दलहरुमध्ये हेटौँडाका सवाल र मुद्दा सबैभन्दा बढी नेपाली कांग्रेसले समेटेर केन्द्रीय घोषणापत्र ल्याइएको पाइएको छ । कांग्रेसले बागमती प्रदेश विश्वविद्यालयदेखि हेटौँडा–भीमफेदी–काठमाडौँ सुरुङमार्गसम्मलाई केन्द्रीय घोषणापत्रमा समेटेको छ ।
बागमती प्रदेश सरकार प्रदेशका गौरवका योजनाहरुका बारेमा चर्चा गर्दै कांग्रेसले केन्द्रीय घोषणा पत्रमा प्रदेश र स्थानीय सरकारका पूर्वाधारक्षेत्रका गौरवका योजनाहरुमा थप स्रोत उपलब्ध गराउने भनेको छ ।
राष्ट्रिय राजधानी काठमाडौँबाट प्रदेशको राजधानी हेटौँडा छिटो र सहजरुपमा जोड्ने एउटा सडकलाई सबैसमय आवागमन नरोकिने गरी एक वर्षभित्र स्तरोन्नति गर्ने कांग्रेसको घोषणपत्रमा उल्लेख छ ।
प्रदेश राजधानीमा सवारी बत्ती तथा क्यामेरा प्रयोगबाट सवारी आवागमन नियमन गर्ने र प्रदेश राजधानीलाई विशिष्टिकृत केन्द्रको रुपमा विकास गर्ने सवाल समेटेको छ ।
यस्तै कांग्रेसले बागमती प्रदेश विश्वविद्यालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च शिक्षा र स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाएको भन्दै प्रस्तावित पोष्टबहादुर बोगटी सुरुङमार्गलाई आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
नेकपा एमालेले नेतृत्वको सरकारले सुरु गरेको काठमाडौँ–तराइ द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
उता नेकपाको केन्द्रीय चुनावी प्रतिबद्धतामा सातै प्रदेशमा कृषि औद्योगिक पार्क स्थापना गर्ने भनेको छ ।
रास्वपले हेटौँडालगायतका सहरमा नयाँ बाइपास सडक बनाउने मुद्दा अघि सारेको छ ।
