Search
Close this search box.

सुरक्षा नै विकासको आधार, सचेत भएर नेतृत्व छानौँ; हर्क साम्पाङ

हेटौंडा । हर्क साम्पाङले देशको सुरक्षालाई विकासभन्दा माथि राख्नुपर्ने बताएका छन्। श्रम शक्ति पार्टीका अध्यक्षसमेत रहेका उनले वर्तमान अवस्थामा राष्ट्रिय सुरक्षालाई पहिलो प्राथमिकतामा नराखे देश जटिल परिस्थितिमा फस्न सक्ने चेतावनी दिए।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले मतदातालाई इमानदार र देशभक्त उम्मेदवार चयन गर्न आग्रह गरे। “तरकारी किन्दा राम्रो–नराम्रो छुट्याउँछौँ, नेतृत्व छान्दा झन् धेरै सोच्नुपर्छ,” उनले भने, “गोलभेँडा किन्दा दाग हेर्छौँ भने देश चलाउने व्यक्ति छान्दा किन नहेर्ने?”

उनले सरकारको मूल दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु भएको उल्लेख गर्दै लोकतन्त्रमा जनताको मत नै निर्णायक हुने बताए। “सरकार अभिभावक हो, आमाबुवाले सन्तान जोगाएझैँ राज्यले नागरिक जोगाउनुपर्छ,” उनले जोड दिए।

साम्पाङले अमेरिकी सहयोग परियोजना (एमसीसी) र प्रस्तावित (एसपीपी) जस्ता सम्झौताप्रति पुनः आपत्ति जनाए। यस्ता सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय द्वन्द्वतर्फ धकेल्ने जोखिम रहेको उनको दाबी थियो। “हामी हाम्रो देशलाई अर्को युक्रेनले वा मध्यपूर्वका देशजस्तो द्वन्द्वग्रस्त बनाउने जोखिम लिन चाहँदैनौँ,” उनले भने। उनले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो पार्टी सक्षम रहेको दाबी गरे।

अध्यक्ष साम्पाङले नेपाललाई ‘भरियाको देश’ नभई आविष्कारकहरूको देश बनाउनुपर्ने धारणा राखे। युवालाई कपी–पेस्ट संस्कृतिबाट बाहिर निस्केर उत्पादनमुखी र सिर्जनात्मक सोच विकास गर्न आग्रह गर्दै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिए। पार्टीको चुनाव चिह्न ‘माटो’ उत्पादन र स्वावलम्बनको प्रतीक रहेको उनको भनाइ थियो।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नै उम्मेदवार दोषी ठहरिए कारबाही गर्न पछि नपर्ने चेतावनी दिए। “मैले नै भ्रष्टाचार गरे पनि ३ करोड नेपालीले जहाँ भेटे पनि कारबाही गर्न सक्छन्,” उनले सार्वजनिक रूपमा प्रतिवद्धता जनाए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan