हेटौंडा । हेटौंडा मा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौंडा–५ शान्तिनगर निवासी १८ वर्षीय क्षितिज रायमाझी रहेका छन्।
सोमबार दिउँसो करिब ३:४० बजे हेटौंडा–१० भुटनदेवी मोडस्थित बाईपास सडक खण्डमा बसपार्कतर्फबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करपछि हात्तीगाडी हेटौंडा बसपार्कतर्फ भागेको थियो। दुर्घटनापछि प्रहरीले हात्तीगाडी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जिल्ला बारा, अमलेखगंज निवासी २० वर्षीय शेरचन बलाइ रहेका छन्।
दुर्घटनामा घाइते भएका स्कुटर चालक रायमाझीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा दिउँसो ४:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव हाल अस्पतालमै राखिएको छ।
स्कुटरको पछाडि सवार हेटौंडा–७ निवासी १९ वर्षीय संगम झाको हातखुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
