Search
Close this search box.

निर्वाचनका लागि पर्यवेक्षक अभिमुखिकरण सम्पन्न, आचारसंहिता पालना गर्न कडाइका साथ निर्देशन

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा खटिने निर्वाचन पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गैरसरकारी संस्था महासंघ मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न संघ–संस्थाबाट निर्वाचन अनुगमनका लागि खटिएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता तथा उनीहरूको भूमिका सम्बन्धी जानकारी गराइएको थियो। मकवानपुर जिल्लाबाट इन्सेकसहित २६ वटा गैरसरकारी संस्था (एनजीओ) र ४ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) का प्रतिनिधि गरी ३५ जना पर्यवेक्षक खटिएको गैसस अध्यक्ष रमिला सापकोटाले जानकारी दिइन्।

कार्यक्रममा बोल्दै गैसस अध्यक्ष सापकोटाले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै निष्पक्ष र जिम्मेवार ढंगले काम गर्न पर्यवेक्षकहरूलाई आग्रह गरिन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले परिवेक्षकहरूले पालना गर्नुपर्ने नियमहरूबारे स्पष्ट पार्दै विवादरहित र तटस्थ ढंगले अनुगमन गर्न निर्देशन दिए। उनले विगत निर्वाचनका अनुभवहरू साझा गर्दै आगामी दिनमा विशेष सावधानी अपनाउनुपर्ने विषयहरूमा पनि प्रकाश पारे।

प्रमुख जिल्ला अधिकारी अधिकारीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि परिवेक्षकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै आचारसंहिता विपरीत काम गरेको पाइए कानुनी कारबाही गर्न पनि पछि नहट्ने चेतावनी दिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, गैसस उपाध्यक्ष कुमारी वाइबा लगायत निर्वाचनमा खटिने पर्यवेक्षकहरुको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan