हेटौँडा। तीन महिनादेखि सम्पर्कविहीन रहेकी १३ वर्षीया टेरिसा राई र उनलाई साथमा लिएर हिँडेका २९ वर्षीय सुदर्शन राईलाई प्रहरीले ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ मकवानपुर र ललितपुर प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा कक्षा–९ मा अध्ययनरत टेरिसा गत मंसिर २१ गते साँझ करिब ५ बजे आफ्नै फुपुको छोरा सुदर्शनसँगै सम्पर्कविहीन भएकी थिइन्। त्यसलगत्तै परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सुरुवातदेखि नै खोजी कार्य जारी रहे पनि एक साताअघि टेरिसाले प्रयोग गरेको नयाँ मोबाइल नम्बर फेला परेपछि अनुसन्धानमा महत्वपूर्ण प्रगति भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको सूचना प्रविधि शाखाको मोबाइल ट्र्याकिङमार्फत उनीहरू अवस्थिति पहिचान गरी चार दिनको निरन्तर प्रयासपछि धापाखेलबाट नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
टेरिसाको खोजीमा हेटौँडा उपमहानगरपालिका अन्तर्गत महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख, माइती नेपाल र प्रहरी निरन्तर सक्रिय रहेका थिए। शाखा प्रमुख विष्णु कुमारी लामिछाने, बालकल्याण अधिकारी बिना थिङ तथा माइती नेपालकी कार्यक्रम संयोजक माया लामालगायतको समन्वयमा खोजी कार्य अघि बढाइएको थियो।
हेटौँडा ल्याएपछि शनिबार सुदर्शन राईविरुद्ध परिवारले ललाइफकाइ जबर्जस्ती लगेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
