Search
Close this search box.

महिला फुटबलको उपाधि चितवनलाई

हेटौंडा– हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको सेभेन ए साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा नारायणी कलेज एन्फा मकवानपुरलाई टाइब्रेकरमा हराउँदै चितवनले उपाधि जितेको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । टाइब्रेकरमा चितवन २–० ले विजयी भएको हो । चितवनले बीरगञ्जलाई र एन्फा मकवानपुरले बागमती गाउँपालिकालाई हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो । विजेता चितवनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने एन्फा मकवानपुरले १० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । आयोजकले सहभागी टिमलाई आउन जान खर्चको समेत व्यवस्था गरेको थियो ।

विजेता खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, नारायणी कलेजका प्रमुख रघुनाथ खराल लगायतले पुरस्कार वितरण गरेका हुन् । १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडाको टिसिएन चौरमा महोत्सव सञ्चालन गरिरहेको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan