हेटौंडा- हेटाैंडा-१० स्थित टिसिएन चाैरमा जारी बृहत् खेलकुद तथा ब्यापार महोत्सवमा नगरस्तरीय सितोरियो कराते प्रतियोगिता भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ५०, ४५, ५०, ५५ र ६० किलो तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सितोरियो कराते संघका अध्यक्ष दीपक लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीको प्रमुख आतिथ्यता रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा भने नेकपा एमालेका नेता एवम् सचेतक महेश बर्तौला रहेका थिए ।
कार्यक्रममा खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, कार्यालय प्रमुख माधव कोइराला लगायत, मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन लगायतको आतिथ्यता रहेको थियो । ‘खेलकुद महोत्सवमा करातेका खेलाडीले पनि आफ्नो खेल कौशल देखाउन पाउँदा खुसी भएका छन् । यो अवसरका लागि आभारी छौं’, सितोरियो कराते संघका अध्यक्ष दीपक लामाले भने । महोत्सव आयोजक समितिका संयोजक खेलकुद विकास समिति अध्यक्ष खड्कीले करातेको खेलका सहभागीलाई धन्यवाद ज्ञापन गरे ।
करातेमा करिब ५० जना भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक विभिन्न बिधाको खेल सञ्चालन भइरहेको छ । जिल्लाको खेल क्षेत्रको विकास गर्ने उधेश्यसहित आयोजित महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत भइरहेको छ ।

