हेटाैंडा- हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लवलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुईलाख रुपैयाँ जितेको हो । एपीएफले न्यू डाइमण्डलाई १५–१९, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेता भएको न्यू डाइमण्डले एकलाख रुपैयाँमै चित्त बुझाएकाे छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपीएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमण्डले प्राप्त गर्याे ।
उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेण्डर सलिना श्रेष्ठ र सेटर प्रगती नाथ घोषित भए । सर्वोत्कृष्ट खेलाडीले १५ हजार र बाँकी विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । ५ वटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको थियो ।
एपीएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लवलाई हराउँदै उपाधि भिडन्त गरेका थिए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, वडा अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका हुन् । मेयर लामाले समग्र खेल क्षेत्रसहित उपमहानगरको सर्वाङ्गीण विकासमा आफूहरु लागिपरेको बताइन् । हेटाैंडामा जारी खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले पुस १३ गतेबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

