हेटौंडा–अटिजम भएका बालबालिकाको पहिचान, उनीहरुको हेरचाह, सचेतना अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेश सरकारले चासो देखाएको छ । प्रदेशका १३ वटै जिल्लामा अटिजम सम्बन्धी काम गर्ने संघसंस्थाको पहिचान गर्नुका साथै समयमै समस्याको पहिचान गरेर आवश्यक तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या भएकाहरु नै प्रदेशमा एक हजारजनाभन्दा बढी भएको तथ्यांक जनगणनामार्फत सार्वजनिक भएपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा कार्यक्रमहरु बनाएर अघि बढ्न लागेको हो । स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालले अटिजमको पहिचान गर्न विद्यालय केन्द्रित कार्यक्रमका साथ सम्बन्धित संघसंस्थाहरुलाई सक्रिय बनाउन कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।
मन्त्रालयले मंगलबार हेटौँडामा आयोजना गरेको अटिजम सम्बन्धी छलफलमा सहभागी सरोकारवालाहरुले अटिजम भएकाहरुको पहिचान गर्न नै समस्या भइरहेको बताएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार बागमती प्रदेशमा मात्र १ हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । तथ्यांकअनुसार काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको छ ।
अटिजमसँग सरोकार राख्नेहरुले भने तथ्यांकमा देखाएभन्दा धेरै बढीमा अटिजमको समस्या भएको हुनसक्ने भन्दै यसको निधानका लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । अटिजम भएकाहरुका अभिभावक, सम्बन्धित संघसंस्था, विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागितामा मंगलबार मन्त्रालयले अटिजम समस्याको वर्तमान अवस्था, आगामी कार्यदिशालगायतको बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा डा. रामप्रसाद पोखरेलले अटिजमको लक्षण, यसको पहिचान गर्ने तरिकालगायतका बारेमा प्रष्ट पारेका थिए ।
कुनै पनि बालबालिका एक्लै बस्ने, आँखा नजुधाउने, शब्द वा वाक्यांश दोहो¥याउने, बोलाउँदा नबोल्ने, साधारण तरिकाबाट कुनै कुरा सिक्न नसक्ने, असामान्य व्यवहार गर्ने गरेमा अटिजमको समस्या भएको आशंका गर्न सकिने डा. पोखरेलको भनाइ छ । अटिजम एउटा रोग नभई जन्मजात नै मस्तिष्कको अपाङ्गताको अवस्था रहेको भन्दै उनले यस्ता समस्या भएकाहरुले घाउ चोट लाग्दा पनि बेवास्ता गर्ने, अन्य बालबालिकासँग नखेल्ने, एकदमै चिच्याउने या रुनेलगायतको लक्षण पनि हुने बताए ।
कार्यक्रमा अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यले पनि अटिजम समस्याको विश्वव्यापी अवस्था, यसको पहिचानलगायतको बारेमा प्रस्तुतीकरण गरेका थिए । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. साकार खनालले पनि नेपालमा अटिजमको अवस्थाको बारेमा प्रस्तुतीकरण दिँदै नेपालमा करिब ३ लाखको संख्यामा अटिजमका समस्या भएका मानिस रहेको बताए
छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख चन्द्रकुमारी व्यञ्जनकार, हेटौँडा अस्पतालका डाक्टर, शिक्षक, अटिजमका क्षेत्रमा काम गरिरहेका सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।
