Search
Close this search box.

हेटौंडामा थाहा नगरको पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी

हेटौंडा– मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडाको बुद्धचोकमा शुक्रवारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । भोलि शनिबार सम्म हुने फोटो प्रदर्शनीमा थाहा नगरका विभिन्न पर्यटकीय गन्तव्यका ६० वटा फोटोहरु राखिएको छ ।

फोटो प्रर्दशनीको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामाले थाहाको फोटो प्रदर्शनीले मकवानपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । समग्र मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भइरहेको उनले बताइन् । भारतीयलाई मकवानपुरमा आकर्षित गर्न सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको भनाइ थियो । विभिन्न देश तथा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने काम पनि भइरहेको बताउँदै नगर प्रमुख लामाले मकवानपुरको पर्यटन प्रवद्र्धनमा आफूहरुको ध्यान रहेको बताइन् ।

गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरु प्रर्दशनीमा राखिएका छ । थाहा नगरको पर्यटकीय क्षेत्र,प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सँस्कृति र जीवनशैली समेटिएका फोटो प्रर्दशनीमा राखिएको छ । काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर संभावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गरिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।

थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवं वाह्य पर्यटकको रोजाईमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाई छ । थाहा नगरपालिकाको आयोजना एवं हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भइरहेको छ ।

हेर्नुहास् फोटो फिचर

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan