हेटौँडा । मकवानपुरमा बहुविवाह, बालविवाह, घरेलु हिंसा, वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा महिला र बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना चुनौतीका रूपमा रहेको सरोकारवालाले बताएका छन्।
राष्ट्रिय महिला आयोगकी सदस्य विद्या कुमारी सिन्हासहितको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेल तथा हिरासत कक्षको अनुगमन र निरीक्षण गरेको छ। अनुगमनका क्रममा महिला सेलमा आउने उजुरी, महिला तथा बालबालिकाले भोग्नुपरेका समस्या, हिरासतमा रहेका महिलाको अवस्था र प्रहरीले गर्ने व्यवहारबारे जानकारी लिइएको थियो।
टोलीले महिला सेलमा आउने उजुरीको प्रकृति, पीडितले न्याय प्राप्तिका लागि भोग्नुपरेका कठिनाइ तथा प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाका विषयमा समेत छलफल गरेको थियो। हिरासतमा रहेका व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दा केहीले आफूहरू बिना गल्ती पनि थुनामा बस्नुपरेको गुनासो गरेका थिए।
त्यस्तै, हिरासत कक्ष साँघुरो हुँदा पर्याप्त ठाउँमा सुत्नसमेत कठिनाइ हुने गरेको उनीहरूको गुनासो थियो। अनुगमन टोलीले हिरासतको भौतिक अवस्था, बसोबास तथा थुनुवाले पाउने सेवा–सुविधाबारे जानकारी लिँदै सुत्ने स्थानको उचित व्यवस्थापन गर्न सुझाव दिएको थियो।
अनुगमनसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आयोगले छलफल गरेको थियो। छलफलका क्रममा माइती नेपालकी माया लामाले मकवानपुरमा बहुविवाहको समस्या धेरै रहेको बताइन्। बहुविवाहका कारण महिलाले पारिवारिक तथा सामाजिक जीवनमा विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो।
उनले मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको बताइन्। वैदेशिक रोजगारीका नाममा समेत मानव बेचबिखन हुने गरेको र आन्तरिक बेचबिखनका घटना पहिचान गर्न चुनौती थपिएको उनले उल्लेख गरिन्। बेचबिखनको स्वरूप परिवर्तन भएसँगै पीडितको पहिचान तथा उद्धार र संरक्षणको कामसमेत कठिन बन्दै गएको उनको भनाइ थियो।
त्यस्तै, सिविन नेपालका झविन्द्र ज्ञवालीले जिल्लामा बालविवाहको समस्या अझै कायम रहेको बताए। बालविवाहपछि जबर्जस्ती करणीका घटनासम्बन्धी उजुरीसमेत आउने गरेको उल्लेख गर्दै उनले बालविवाह रोकथाम र बालबालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी पहल आवश्यक रहेको औँल्याए।
नेपाल मानवअधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठले पछिल्लो समय घरेलु हिंसाको अवस्था चिन्ताजनक रहेको बताइन्। घरेलु हिंसाका कारण धेरै महिला पीडित भइरहेकाले यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उनले जोड दिइन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जिल्लामा वैदेशिक रोजगारीका नाममा हुने ठगी, बालविवाह तथा महिला र बालिकामाथि हुने यौन दुर्व्यवहारलगायतका घटनाबारे जानकारी गराएका थिए। कतिपय पीडितले उजुरी दर्ता गर्न नमान्दा आरोपितलाई कानुनी दायरामा ल्याउन समस्या हुने गरेको उनको भनाइ थियो।
अनुगमन तथा छलफलमा सेफ हाउसकी बिन्दा बर्तौला, मानवअधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईंसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
अनुगमनका क्रममा महिला तथा बालबालिकामाथि हुने हिंसा, शोषण र दुर्व्यवहारका घटनामा पीडितलाई न्यायमा पहुँच पुर्याउने, उजुरीको प्रभावकारी सुनुवाइ गर्ने तथा प्रहरी सेवालाई मानवअधिकारमैत्री बनाउने विषयमा जोड दिइएको थियो।
अनुगमनका क्रममा प्राप्त सुझाव, समस्या र अवस्थाका आधारमा सम्बन्धित निकायलाई आवश्यक नीतिगत सुधारका लागि सरकारसमक्ष सिफारिस गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।

