नवलपरासीको देवचुली स्थित नेपाल नमुना माबि द्वारा श्रमिक माबि हेटौंडा-४ को अवलोकन भ्रमण आज सम्पन्न भएको छ । सफल अभ्यास गर्दै गरेको श्रमिक मावि हेटौडामा पछिल्लो समय शैक्षिक भ्रमण गर्न आउनेको संख्या उल्लेख्य रहेको प्रधानाध्यापक श्रीराम दाहालले बताए । प्रधानाध्यापक शिब प्रसाद देवकोटाको संयोजनमा टोली श्रमिक मावि आईपुगेको हो ।
दुवै बिद्यालय बिच शैक्षिक अन्तरक्रिया गरिएको कार्यक्रममाविद्यालयका सफल अभ्यासहरु साटासाट भएका थिए । श्रमिक माविले अंग्रेजी तथा नेपाली माध्यम दुबैमा पठनपाठन गर्दै आएको छ । मन्टेश्वरी कक्षा सञ्चालन, अभिभावकले घरबाट नै आफ्ना बालबालिकाको प्रत्यक्ष नीगरानी राख्न पाउनेगरी सिसि टिभिको व्यवस्था, प्रत्येक शनिवार स्तर वृद्धि परीक्षा, अनुपस्थित विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष टेलिफोन सम्पर्क, सूचना प्रविधिमैत्री कक्षाकोठाको व्यवस्था लगायत श्रमिक माविले थुप्रै सकारात्मक शैक्षिक अभ्यासहरु गर्दै आएको छ । विद्यालयले कारणवश खाली हुन गएका कक्षाकोठामा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्ने, विद्यालयको नियमित गतिविधि समेटिएको वार्षिक शैक्षिक क्यालेण्डर सम्वन्धित विद्यार्थी र अभिभावकको हातहातमा पुर्याउने लगायतका कार्यहरु गर्दै आएको छ ।
भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिबेक कार्की,सहायक प्रधानाध्यापक गोपिरमण प्याकुरेल लगायत शिक्षकहरुको उपस्थिति थियो ।


