हेटौंडा– बालबालिकासँग वडाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाले बिहीबार सिद्धार्थ माध्यमिक विद्यालयमा पुगी बालबालिकाको समस्या र गुनासो सुनेको छ । सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ उनीहरुको समस्या सुन्न वडाध्यक्ष विष्णुगोपाल महर्जनसहित वडा सदस्यहरु र कर्मचारीहरु पुगेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विद्यालयले उपलब्ध गराउने स्यानिटरी प्याडको गुणस्तरीयता नभएको देखि विद्यालय समयमा हुने ध्वनि प्रदूषणसमेतको समस्या वडाध्यक्षलाई राखेका थिए । वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख मन्जु गौतमलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाले सवारीको चर्को आवाजका कारण पढाईमा समस्या हुने गरेको, विद्यालय परिसरमै सूर्तिजन्य पदार्थ बिक्री नरोकिएकोबारे वडाध्यक्षको ध्यानाकर्षण गराए ।
शिक्षकहरुले समेत गुटखा खाएर कक्षामा प्रवेश गर्ने गरेको समेत विद्यार्थीले गुनासो गरे । जवाफमा वडा अध्यक्ष महर्जनले स्यानिटरी प्याडको गुणस्तरका लागि पालिकामा समन्वय गर्ने, प्याड डिस्पोज गर्ने मेसिन ल्याउने तथा अन्य समस्याका विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताए । बाल समुहका १०० भन्दा धेरै बालबालिका सँग र टोल विकास संस्थाका प्रतिनििधसँग अन्तरक्रिया गरिसकेको बताउँदै वडा सदस्य सरज वर्तौलाले वडाभित्र रहेका दुए वटै सामुदायिक विद्यालयमा बालबालिकासँग वडाअध्यक्ष कार्यक्रम गरिने बताए । बालमैत्री स्थानीय शासन लागू गरेको घोषणा गर्न सरकारले तोकेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्ने उद्देश्यका साथ वडाले उक्त कार्यक्रम गरेको हो ।

