Search
Close this search box.

प्रदेश मन्त्रीकाे आफ्नै गुनासो, भन्छन्ः ‘प्रतिपक्ष जस्तो भएको छु’

हेटौंडा–सरकारका मन्त्री आफैं गुनासो र समस्याको पोका बोकेर बस्छन् भने आम नागरिकले कसलाई गुनासो र समस्या राख्ने ? बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अहिले त्यहि गुनासोको भारी बोकेर हिँडिरहेका छन् । उनी संसदमा होस् या कुनै सार्वजनिक कार्यक्रममा आफूलाई नै बेवास्ता गरी बजेट निर्माण, कार्यान्वयन र अन्य योजना बनेको भन्दै दिकदारी पोख्छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शुक्रबार प्रदेश राजधानी हेटौंडामा भएको एक कार्यक्रममा मन्त्रालयले गरिरहेका कामहरुको बारेमा जानकारी गराउँदै गर्दा आफ्नै गुनासा र समस्याहरु पनि सुनाए । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा शुक्रबार भएको सञ्चारकर्मीको अधिकार, चुनौती र समाधान विषयक कार्यशाला गोष्ठीका प्रमुख अतिथि रहेका मन्त्री श्रेष्ठले आफूले मन्त्रालयबाट सिफारिस गरिएका योजनाहरु नै नसमेटिने गरेको भन्दै गुनासो गरे ।
सूचना बैंक स्थापना गर्न प्रदेश मन्त्रालयमार्फत १ करोड रुपैयाँ बजेट विनियोजन गरिएता पनि त्यसको कार्यान्वयन गर्न नसकिएको भन्दै उनले असन्तुष्टी पोखे । ‘सूचना बैंक स्थापना गर्ने भनेर बजेट छुट्याइयो, कार्यविधि पनि बनाइयो, अन्ततः कार्यान्वयन गर्न सकिएन । त्यो बजेट नै रकमान्तर गर्नुपर्ने अवस्थामा छौं ।’ मन्त्री श्रेष्ठले भने ।

सञ्चार सम्वद्ध संघसंस्थालाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भनेर आफूले शीर्षक र बजेट प्रस्ताव गरिए पनि अर्थ मन्त्रालयमा पुगेर योजना फालिएको उनले बताए । ‘धेरै काम गर्न चाहेको हो, चाहेर पनि कतिपय कामहरु गर्न सकिएको छैन ।’ मन्त्री श्रेष्ठले भने–‘संसदमा गर्ने सम्बोधनमा पनि प्रतिपक्षको नेताले जस्तो बोल्न बाध्य छु ।’ बजेटको शीर्षक परिवर्तन, योजना संशोधनलगायतमा मन्त्रालयसँग आवश्यक सल्लाह नै नहुने गरेको भन्दै उनले पत्रकारहरुमाझ गुनासो पोखे । यसबारे सोधखोज गरेर सत्यतथ्य बाहिर ल्याउन पनि पत्रकारहरुलाई आग्रह गरे । पत्रकारमैत्री व्यवहार गर्नमा आफूहरु प्रतिबद्ध रहेकाे उनले बताए । प्रदेशलाई प्राप्त अधिकार नपाउँदा आफूहरुले संघीय सरकारविरुद्ध संघर्ष गर्नुपर्ने अवस्थामा पुगेकाे पनि उनले सुनाए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलले स्वच्छ पत्रकारिताकाे प्रवर्धन गर्ने गरि प्रदेश र संघीय सरकारले कानुन ल्याउनुपर्नेमा जाेड दिए । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले सञ्चार नीति परिवर्तन गरी सञ्चार माध्यमलाई नियन्त्रण गर्ने दिशातिर अघि बढेकाे भन्दै वाक तथा प्रेस स्वातन्त्रताविरुद्धकाे कानुन आफूहरुलाई अमान्य हुने बताए । 

युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैंडा, सञ्चार रजिष्टार रेवती सापकाेटा, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलिप पाैडेल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकाेटालगायतले मन्तव्य राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan