हेटाैंडा- हेटाैंडा-१४ स्थित जनज्याेति माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा तथा भेदभावविरुद्धकाे कानुनी परामर्श कार्यक्रम भएकाे छ । विद्यालयले शुक्रबार माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी लैङ्गिक हिंसा र भेदभावविरुद्धकाे परामर्श दिएकाे हाे ।
विद्यालयकाे आयाेजना तथा जिल्ला अदालत बार एशाेसिएसनकाे सहकार्यमा भएकाे कार्यक्रममा जातीय भेदभाव, लैङ्गिक हिंसाकाे प्रकृति, भेदभावकाे क्षेत्र र कानुनी उपचारलगायतका विषयमा विद्यार्थीलाई परामर्श दिइएकाे थियाे । जिल्ला अदालत बार एशाेसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले जातीय भेदभाव र त्यसकाे कानुनी उपचारकाे विषयमा प्रस्तुतीकरण गरेकी थिइन् भने सचिव शान्तिमाया मुक्तानले लैङ्गिक हिंसाकाे प्रकृति र कानुनी व्यवस्थाकाे बारेमा परामर्श दिएकी थिइन् ।
जिल्ला अदालत बार एशाेसिएसन मकवानपुरका उपाध्यक्ष जयराम सुबेदीले भने भेदभावकाे क्षेत्रकाे बारेमा विद्यार्थी र शिक्षकलाई प्रष्ट पारेका थिए ।
जनज्याेति माविका प्रधानाध्यापक भाेगेन्द्र लुइटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका निमावि संयाेजक किरणकुमार रेग्मी मगर, खेलकुद संयाेजक ईन्द्रबहादुर अधिकारी, शिक्षक प्रतिनिधि सावित्री लामिछाने, जेन्डर फाेकल पर्सन सत्यवती सिग्देललगायतकाे उपस्थिति रहेकाे थियाे । विद्यालयका शिक्षक विशाल अधिकारी ‘आशुताेष’ ले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।


