Search
Close this search box.

बागमती गोल्डकप सुरु, उद्घाटन खेलमा मछिन्द्र विजयी

हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ५–२ गोलले हराउँदै मछिन्द्र
ले विजयी सुरुवात गरेको छ । मछिन्द्रको जीतमा हिसुव थपलियाले खेलको ३० औं सेकेन्डमा विमल घर्ती मगरको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे । यस्तै अभिषेक गुरुङले खेलको ४३ औं मिनेटमा, विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले ५६ औं मिनेटमा, सौरव लिम्बुले ७९ औं मिनेटमा र विमल घर्ती मगरले ८६ औं मिनेटमा एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच घर्ती घोषित भए । उनले दुई असिष्ट पनि गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमतीको तर्फबाट खेलको सुजन चौधरीले ८१ औं मिनेटमा र सुजन गौतमले खेलको ८३ औं मिनेटमा गोल गरे । विजयी मछिन्द्रले क्वाटरफाइनलमा फाल्गुन ५ गते जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र ए डिभिजन क्लब हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो । प्रतियोगितामा आयोजक बागमतीसहित तीन मोफसल र ७ वडा ए डिभिजन क्लबहरुको सहभागिता रहेको छ । नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा आगामी फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बागमती खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुुरका कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan