हेटौंडा– मकवानपुरमा क्रियाशील १० जना पत्रकारलाई शनिबार विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । न्यु मिडिया एकेडेमी प्रालि र टिम नेपालको संयुक्त आयोजनामा अवार्ड वितरण कार्यक्रम भएको हो ।
सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड कान्तिपुरका होम कार्कीले प्राप्त गरे । उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल र पुरुषतर्फ रातोपाटीका गणेश दुलालले हात पारे । साझाकुरा दैनिकका रेवती तिमल्सिना (नविन) ले खोज पत्रकारिता अवार्ड पाउँदा गोल नेपाल डटकमका विक्रम बानियाँले खेल पत्रकारिता अवार्ड पाएका छन् । ग्रामीण पत्रकारिता अवार्ड– २०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्णा) लाई सम्मान गरिएको छ भने रातोसमाचार डटकमका राजेश थापा (गरिब) लाई चलचित्र पत्रकारिता वर्ष अवार्ड प्रदान गरिएको छ । अनलाईन पत्रकारिता वर्ष अवार्ड– २०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली सम्मानित भए भने टेलिभिजन पत्रकारिता बर्ष अवार्ड– २०८० टिम टिभिका मनिल महतोले प्राप्त गरे । उत्कृष्ट उदियमान पत्रकार वर्ष अवार्ड– २०८० समृद्ध समाज दैनिकका रविन्द्र वाइवालाई प्रदान गरिएको छ ।
वर्ष पत्रकारिता पुरस्कार महिला र पुरुषको अवार्डको राशि १० हजार र सर्वोत्कृष्ट राष्ट्रिय अवार्डको राशि १५ हजार रहेको छ भने अन्य विधाको अवार्डको राशि ५ हजार रहेको छ। प्रालिले २०७५ सालबाट अवार्ड दिंदै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा टिम नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ, मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, जसपा नेता विद्युत बज्राचार्य, कलाकार सुसान्त श्रेष्ठ, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।
अवार्डसँगै विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । अग्रज संचारकर्मी सम्मान राससका पत्रकार कृष्ण राम परियार, ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार एवं नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईलाई प्रदान गरियो । संचार उद्यमी सम्मान २०८० बाट पालुङ एफएमका ध्रुवराज ढकाल, नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र हेटौँडा सन्देश दैनिकका माधव न्यौपानेलाई सम्मान गरिएको छ ।

