Search
Close this search box.

बागमती गोल्डकपः एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्बलले फाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी( लाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाति अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीले ९१ औं मिनेटमा गोल गरे । एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो भने जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको थियो ।

फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan