मकवानपुरमा फागुन १३ देखि १९ सम्म दादुरा रुबेला खोप अभियान चल्दै

हेटौंडा–मकवानपुरमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको हो । अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य कार्यालय मकवानपुरले अभियान अवधिमा मकवानपुरभित्र ५ सय २० वटा खोप केन्द्रमार्फत करिब ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार जिल्लामा तीनसय ४० जना स्वास्थ्य स्वयम्सेविका परिचालन हुनेछन् । लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख मिजारले बताए ।

सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ । सरकारले २०७६/७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको थियो । नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको थियो । त्यसमध्ये मकवानपुरमा ४० जना संक्रमित भेटिएका थिए । दादुरा रुबेला संक्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको बताइएको छ । मकवानपुर जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेको स्वास्थ्य कार्यालयले विश्लेषण गरेको छ ।

बागमती प्रदेशमा नुवाकोट बाहेक सबै जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...