हेटौंडा– देशभरका माझी समुदायको प्रमुख पर्व लदी (कोसी पूजा) आज मनाउँदै छन् । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार मनाउने लदी पर्वको अवसरमा मकवानपुरको दुई वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
माझी समुदायको विशेष बसोबास रहेको मकवानपुरको बकैया र बागमती गाउँपालिकाले आज पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले एक सूचना जारी गर्दै लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएका छन् । त्यस्तै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सूचना जारी गर्दै अध्यक्षस्तरको निर्णयबाट लदी पर्वको अवसरमा बकैया गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् । अघिल्ला वर्षहरूमा पनि यी गाउँपालिकाहरूले लदीमा सार्वजनिक बिदा दिँदै आएका छन् ।
माझी समुदायको मुख्य पेशा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहँदै आएको छ । जसअनुसार नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् । माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् । देशभरमा रामेछापसहित मकवानपुर र सिन्धुलीमा माझी समुदायको बाक्लो बसोबास रहेको छ ।



