हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको टोली आज बंगलादेश भ्रमणमा जाँदैछ । संस्थागत तथा व्यवसायिक सम्बन्ध विस्तारको उद्देश्यसहित टोली बंगलादेश जान लागेको टोलीको भ्रमण फागुन २० गतेसम्म हुनेछ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा २२ सदस्यीय टोलीले भ्रमण गर्ने तय भएको छ भने मउवासंघका पूर्व अध्यक्ष तथा बंगलादेश नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुणराज सुमार्गीले भ्रमण कार्यक्रम संयोजन गरेका छन् । भ्रमणको क्रममा बंगलादेशका स्थानीय उद्योग वाणिज्य संघलगायतसँग अन्तरक्रिया हुने बताइएको छ ।
भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघमा सोमबार एक विदाई कार्यक्रम आयोजना गरी भ्रमण सफलताको शुभकामनासहित संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवाल, उपाध्यक्ष राजु अधिकारी, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतले विदाईसमेत गरेका थिए ।
बंगलादेश नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष एम.एम. ओबयदुर रहमानले भ्रमण टोलीलाई निमन्त्रणा गरेका छन् । भ्रमणले व्यापार, व्यवसाय र सांस्कृतिक सम्बन्ध विस्तारमा सघाउ पुग्ने उनले विश्वास लिएको बताइएको छ ।

