Search
Close this search box.

बागमती प्रदेशमा साढे १३ लाख भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदै

हेटौंडा–बागमती प्रदेशमा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको साताव्यापी खोप अभियान भाेलिदेखि सुरु हुँदैछ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतबाट एक हप्ताको अवधिमा करिब साढे १३ लाख भेडाबाख्रामा खोप लगाउने योजना बनाइएको छ ।

मन्त्रालयअन्तर्गतको जिल्ला पशु सेवा कार्यालयमार्फत २० वटा भन्दा बढी भेडाबाख्रा पाल्ने कृषकको पहिचान गरी सोही स्थानमा पुगी खोप सञ्चालन गरिने योजना बनाइएको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी फागुन २२ गतेसम्मको अवधिमा प्रदेशभर लगाउनको लागि १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा १३ लाख ५० हजार डोज खोप खपत गर्ने लक्ष्य रहेको जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर करिब २८ लाख वटा भेडाबाख्रा रहेकोमा अहिले सञ्चालन गर्ने खोपको कभरेज करिब ५८ प्रतिशत रहेको जनाइएको छ ।

पिपिआरविरुद्धको खोप भेडाबाख्रामा पहिलो पटक ३ महिनाको उमेर पूरा भएपछि लगाउने र तत्पश्चात खोप लगाउदा हरेक ३÷३ वर्षको फरकमा फागुन देखि चैत्र महिनामा लगाउनुपर्ने पशु प्राविधिकको भनाइ छ । प्रदेश सरकारले गत २ वर्षदेखि बर्सेनि खोप अभियान चलाइरहेको जानकारी दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले गत वर्ष लगाएका भेडा बाख्रालाई लगाउनु नपर्ने हुँदा यसवर्ष छुट्याइएको १५ लाख खोप प्रयाप्त हुने बताए ।

पिपिआर विषाणुबाट भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग हो । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । नेपालमा यस रोगले गर्दा बर्सेनि २० अर्बसम्मको आर्थिक क्षति हुने गरेको अनुमान छ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि खोप नै सबै भन्दा प्रभावकारी उपाय भएको बताइएको छ । 

यो रोगको संक्रमण दर शत प्रतिशत र मृत्यु दर ९० प्रतिशतसम्म पुग्ने गर्दछ । नेपालमा पहिलोपटक सन् १९९४ मा देखिएको यो रोग हाल नेपालका ७७ वटै जिल्लामा पुष्टी भएको छ । रोग लागेका भेडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आशु बग्नेलगायतका लक्षण देखिने पशु चिकित्सकको भनाइ छ । रोग लागेको ५ देखि १० दिनमा भेडाबाख्राको मृत्यु हुन्छ । 

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा ९ लाख ७९ हजार भेडाबाख्रामा पिपिआर विरुद्धको खोप लगाएको थियो भने २०७८/०७९ मा ८ लाख ३० हजार डोज खोप लगाइएको तथ्यांक छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan