मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि नारीकाे समान सहभागिता र याेगदान महत्वपूर्ण हुने बताएका छन् । आज शुक्रबार मनाउँदै गरिएको ११४ औं नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे बताएका हुन् ।
आज मार्च ८ का दिन विश्वभर ‘‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’’ भन्ने नाराका नारी दिवस मनाइँदैछ । ‘११४ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ ।
प्रमुख शर्माले यो दिवसले नारीहरुको सशक्तीकरणमा पाइला अगाडि बढाई राख्न अभिप्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । ‘यो दिवसले हामी सबैलाई नारी हकहितका पक्षमा लाग्दै उनीहरुको सशक्तीकरणमा दिगो र दरिलो पाइला अगाडि बढाइ राख्न अभिप्रेरित गरोस् ।’ प्रमुखको भनाई छ ।
महिलाको हकलाई हाम्रो देशको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै प्रमुख शर्माले संवैधानिक व्यवस्था बमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा अहिले कार्यान्वयन भइरहेको पनि सन्देशमा उल्लेख गरेका छन् ।
प्रमुखले कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि बेलाबखत हुने अन्याय अन्त्य गर्नु सबैको दायित्वभित्र पर्ने पनि ओैंल्याएका छन् ।

