Search
Close this search box.

किताबघरको वार्षिकोत्सवमा कविता प्रतियोगिताका साथै पठन संस्कृतिबारे बहस

हेटौंडा–पठन संस्कृतिको प्रवद्र्धनबाट व्यावसायिक उन्नयनको बाटोमा लागेको किताबघर हेटौंडाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिताका साथ पठन संस्कृतिको विकास र प्रवद्र्धनबारे बहस गरेको छ । शनिबार हेटौंडामा विद्यालयमा पठन संस्कृतिः के, किन र कसरी ? भन्ने विषयमा बहस कार्यक्रम गरेको हो भने माध्यमिक तहस्तरीय कविता प्रतियोगितासमेत गरेको छ ।

बहसमा न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्याल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी र आख्यानकार नयनराज पाण्डेले वक्ताको भूमिका निर्वाह गरेका थिए । किताबघरका प्रबन्धक छवि अनित्यले कार्यक्रमको सहजीकरण गरेका थिए । बहसका क्रममा प्इाब्सन मकवानपुरका अध्यक्ष बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र घोकाउनुपर्छ भन्ने अभिभावकको चेतनामा परिवर्तन नआएसम्म विद्यालयमा पठन संस्कृतिको विकास हुन नसक्ने धारणा राखे । बाह्य पुस्तकहरुको अध्ययनबाट पनि विद्यार्थीहरुले धेरै कुरा सिक्छन् भन्ने कुरा अभिभावकलाई बुझाउनु जरुरी रहेको उनको भनाइ थियो ।


न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्यालले विश्व घटना र परिवेशसँगैे समाज र देशको विविध पाटोको बारेमा पढेर ज्ञान लिन सकिने भन्दै बालबालिका र तिनका अभिभावकले पनि पुस्तकहरुको जतिसक्दो पढ्नु आवश्यक रहेको बताइन् । पठन संस्कृतिको विकासले विश्व मानवहरूसँग जोडिने माध्यमको रूपमा काम गर्ने उनको भनाइ थियो ।

आख्यानकार नयनराज पाण्डेले विद्यार्थीका रुचि र उनीहरुको क्षमताअनुसारको पुस्तक अध्ययन गर्नका लागि विद्यालयहरुले सुविधा उपलब्ध गराउनुपर्ने बताए । विद्यालयहरूले बालबालिकालाई लक्षित गरी बालसाहित्य कार्यशाला सञ्चालन गर्न पनि उनले सुझाव दिए । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका सिएम रिमाल र बालजागृति युवा वर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले पठन संस्कृतिको लागि विद्यालयले गरिरहेका कामहरुको बारेमा बताएका थिए ।

सोही बहसकाबीच भएको माध्यमिक तहस्तरीय कविता प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन विद्यालयका आकांक्षा निरौला, नवोदय शिशु सदन विद्यालयकी ग्रीष्मा खतिवडा र हेटौंडा मोर्डन विद्यालयकी सुमिशा श्रेष्ठ उत्कृष्ट घोषित भई पुरस्कार प्राप्त गरे । साहित्यकार निमेष निखिल, हरिप्रसाद पौड्याल र केशव समर्पणले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । हेटौंडा उपमहानगरपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त कविता मध्ये उत्कृष्ट १० कविता छनौट गरी वाचनको लागि बोलाइएको थियो । कार्यक्रमकैबीच किताबघरको उत्कृष्ट पाठकको रुपमा उमा मैनाली र समर्पण न्यौपानेलाई सम्मानसमेत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan