Search
Close this search box.

इजरायली राजदूत बासको बागमती भ्रमण

हेटौँडा । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबीच शुक्रबार हेटौँडामा शिष्टाचार भेटवार्ता भएको छ।

कृषि, प्रविधि तथा संस्थागत साझेदारीका सम्भावित क्षेत्रको पहिचान, बागमती प्रदेशभित्र सञ्चालित प्राविधिक शिक्षाको स्थलगत निरीक्षण, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन तथा प्रदेशको औद्योगिक क्षमताको अध्ययन गर्ने उद्देश्यसहित भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो।

भेटवार्तामा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सिटिईभिटी बागमती प्रदेशकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामा लगायतको सहभागिता थियो।

संयुक्त छलफलपछि राजदूत बासले इजरायल सरकार र बागमती प्रदेश सरकारबीच कृषि, प्रविधि र प्राविधिक शिक्षालगायतका क्षेत्रमा सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

भेटपश्चात् राजदूत बासले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिको कार्यालय, औद्योगिक क्षेत्रभित्र सञ्चालित बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, अन्ट्राटिका बिस्कुट उद्योग, एसटिसी इनर्जी ब्याट्री उद्योग, जनप्रिय प्राविधिक शिक्षालय तथा ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको अवलोकन गरेका थिए। उनले प्रदेशको औद्योगिक, प्राविधिक तथा ऐतिहासिक सम्भावनाबारे जानकारी लिँदै विभिन्न पक्षसँग अन्तरक्रिया समेत गरे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan