हेटौंडा– नवसर्जक साहित्य चौतारी नेपालले २१ ओैँ नियमित मासिक शृङ्खला शनिबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । चौतारीकी उपाध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् मामाघर नेपालका संरक्षक एवम् परिकल्पनाकार अर्पण पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका परिकल्पनाकाररसंरक्षक दीपक गौतम, सल्लाहकारहरू डिबी बर्तौला र अर्चना दहालको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर बालविद्या सदन, हर्नामाडीका कक्षा– १० मा अध्ययनरत सौरब बिँडारीले रवीन्द्र मिश्रद्वारा लिखित ‘खान पुगोस् दिन पुगोस्’ तथा धनगढी, कैलालीकी रबिना धानुकले ‘एक मिनेटमै जीवन परिवर्तन’ नामक पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए भने नवसर्जकहरू अनासुया खनाल, विप्लव आचार्य, अजय बर्तौला, कृतिका लामिछाने, सुमिसा श्रेष्ठ, यादृक्षा न्यौपाने, मानश्वी पौडेल, कृष्टिना शाह, सदिक्षा नेपाल, किरण धामी, आयुश्री दाहाललगायतले कविता, गीत तथा गजल वाचन गरेका थिए ।
कार्यक्रममा देशभरका विभिन्न प्रदेशका गरी तीन दर्जनबढी नवसर्जकको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण चौतारीकी उपाध्यक्ष एवम् काठमाडौँ उपत्यका संयोजक आँचल कुसुम अधिकारीले गरेकी थिइन् । चौतारीले हरेक महिनाको चौथो शनिबार भर्चुअल माध्यमबाट नवसर्जक मासिक शृङ्खलाका साथै हरेक शनिबार विभिन्न साहित्यिक विधाका प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।