Search
Close this search box.

पारिजात स्मृति सम्मान मास्केलाई, सम्मान रकममा १५ हजार पाँचसय थपेर साहित्य सङ्गममा अक्षयकोष

हेटौंडा–साहित्यकार एवम् स्वास्थ्य सेवी डा. महेश मास्केलाई पारिजात स्मृति साहित्य सम्मान २०८० प्रदान गरिएको छ । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रमकाबीच साहित्यकार पारिजातको स्मृतिमा स्थापित सम्मान मास्केलाई प्रदान गरिएको हो ।

साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा मास्केलाई १५ हजार पाँच सय ५५ रुपैयाँ राशीको सम्मान प्रदान गरिएको हो । हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पणपछि भएको कार्यक्रमकाबीच हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सङ्गमका अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।

डा. मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह पनि प्रकाशित गरेका थिए । पारिजात स्मृति सम्मान ग्रहण गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगद १५ हजार पाँच सय ५५ रुपैयाँमा त्यति नै रकम थपेर साहित्य सङ्गमले निर्माण गर्दै गरेको अक्षयकोषमा सहयोग प्रदान गरे । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए ।

माल्यार्पणपछिको कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । कार्यक्रममा भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातका कविता वाचन गरेका थिए । कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले भनाइ राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan