राक्सिराङबासीलाई सबै सेवा घरदैलोमै

हेटौंडा–सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यका साथ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा प्रदान गर्न सुरु गरेको छ । गाउँपालिकाले घरघरमै पुगी बिरामी जाँच, स्वस्थ्य, कृषि तथा अन्य सेवा सुरु गरेपछि गाउँबासी दंग बनेका छन् ।

‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गत आर्थिक वर्षदेखि सुरु गरेको गाउँपालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा दिने कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रमको निरन्तरताको क्रममा गाउँपालिकाले सोमबारबाट विभिन्न वडालाई समेटेर एकीकृत सेवा सुरु गरेको हो । गाउँपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर सोमबार राक्सिराङ–२ को कुँडुलेमा एकीकृत घुम्ती शिविरको आयोजना गरिएको हो । शिविरमा सहकारी जागरण कार्यक्रमअन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रवद्र्धन कार्यक्रम, कृषि विकास कार्यक्रमअन्तर्गत मिनी ट्रिलर, कम्वाइन मिल, टनेल प्लाष्टिकलगायत सामाग्री वितरण, पशु सेवा कार्यक्रमअन्तर्गत पशु औषधि तथा घाँसको बिउ वितरण कार्यक्रम, सामान्य स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण र अपाङ्गता जाँच र परिचयपत्र वितरण कार्यक्रम गरिएको थियो ।

ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अर्कोवर्षदेखि एकीकृत सेवा प्रदान कार्यक्रमलाई प्रत्येक वडामा पु¥याइने र अझ व्यवस्थित तरिकाले सेवा प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । एकीकृत शिविर अन्तर्गत वैशाख १४ गते राक्सिराङ ६ को काँकडा स्वास्थ्य चौकी र श्री जुरेथुम प्राविमा कार्यक्रम निर्धारण गरिएको छ भने वैशाख १८ गते राक्सिराङ –४ को वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा दिइनेछ । त्यसैगरी वैशाख २१ गते राक्सिराङ–९ को कालिका मावि, अठारेलाई केन्द्र बनाई एकीकृत शिविर गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

एकीकृत घुम्ती शिविर उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँका बासिन्दालाई घरटोलमै सेवा दिई जनमुखी काममा आफूहरु क्रियाशील रहेको बताए । एकीकृत शिविरमा ३ सय ११ जनाको सामान्य उपचार गरिएको थियो भने २२ जना गम्भीर बिरामीलाई विशेष उपचार गरिएको थियो । त्यस्तै ३ सय ६ जनालाई निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखाले बताएको छ । त्यस्तै कृषितर्फ २९० जनालाई तरकारीको बिउ वितरण गरिएको थियो । त्यस्तै पशु सेवातफ २३० जनालाई घाँसको बिउ वितरण गरिएको थियो भने २५१ जना किसानलाई पशुपंक्षीका विभिन्न रोगविरुद्धका औषधि निशुल्क वितरण गरिएको थियो । शिविरमा ११ जनाको अपाङ्गता परीक्षणको लागि निवेदन संकलन गरिएको थियो भने ३ जना अपाङ्गलाई ह्वीलचियर र वैशाखी जस्ता सहायक सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । १० जना ज्येष्ठ नागरिकलाई घरघरमै पुगी फलफूल, पौष्टिक आहारसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तान, २ नम्बर वडाध्यक्ष वुद्धराम मुक्तान, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबालगायतको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ कोखारीमा रहेको बागेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवकुमार मल्ल चयन भएका छन् । शनिबार भएको ५० औं अभिभावक भेलाबाट मल्लको अध्यक...