राक्सिराङ– हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ । राक्सिराङ गाउँपालिकाको दुङ्गु–गार्खा–रतुवा खण्ड छिचोलिएसँगै सो सडकको सबै ट्रयाक निर्माण सकिएको हो ।
खोलाको अस्थायी बाटो हुँदै केही वर्षअघिदेखि नै मनहरी–मलेखु सडकमा साना सवारीहरु आवतजावत गर्न थालेता पनि अब भने खोलाको बाटोबिनै मलेखु निस्कन सकिने अवस्था रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ट्रयाक निर्माण पूरा भएसँगै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहितको टोलीले शनिबार मनहरी–बोडबारी–रतुवा–चौकीटार–खैराङ हुँदै धादिङको सिमानासम्म मुल सडकबाटै आवतजावत सुरुवात गरेको छ । गाउँपालिकाका अध्यक्ष, कर्मचारीसहितको टोलीलाई रतुवामा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए ।
‘मनहरीबाट मलेखु जोड्ने छोटो मार्गको ट्रयाक निर्माणको काम पूरा भएको छ, अब वर्षायाममा पनि मनहरीबाट मलेखु निस्कन सक्ने अवस्था बनेको छ ।’ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने– ‘अब दुङ्गु खोला र घोर्कोटेमा पुल बनाउनुपर्नेछ । त्यसको लागि हामीले प्रदेश र संघीय सरकारसँग बजेट माग गरेका छौँ ।’ गार्खा रतुवा खण्डको ट्रयाक पूरा गर्नको लागि तीन वर्षअघि नै ठेक्का लगाइएको भएता पनि कडा चट्टानका कारण निर्माण कम्पनीले काम गर्न सकेको थिएन । ठेकेदारमार्फत काम नभएपछि चाल आर्थिक वर्षमा गाउँपालिकाले दुंगुबाट गार्खा र गार्खाबाट रतुवासम्म दुइ खण्ड बनाएर उपभोक्ता समितिमार्फत काम गराएको थियो । दुइ खण्डमा ८० लाख रुपैयाँ खर्चिएर यस वर्ष ट्रयाक निर्माण पूरा गरिएको हो ।

सडकको स्तरोन्नती र दुइ ठाउँमा पक्की पुल निर्माण गर्नसके वर्षायाममासमेत मनहरी मलेखु आवतजावत गर्न सकिने अवस्था बनेको गाउँपालिका अध्यक्ष मल्लले बताए । मनहरीदेखि मलेखुको दुरी ५२ किलोमिटर मात्रै छ । सो सडकले स्थायित्व पाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका आम नागरिकको जीवनस्तरमा परिवर्तन हुने अपेक्षा गरिएको छ । ‘मनहरी–मलेखु सडक स्थायी रुपमा चलाउने अभियानमा हामी छौँ । यो सडकको स्थायित्व भएसँगै राक्सिराङ र कैलाशका विकट गाउँका चेपाङ, तामाङ जस्ता पिछडिएका समुदायको जीवनस्तरमै सुधार हुनेछ । उत्पादित वस्तुले बजार पाउनेछ भने अन्य पूर्वाधार निर्माणले पनि तीव्रता पाउनेछ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
संघीय संरचनामा जानुपूर्व सडक निर्माण शून्य अवस्थामा रहेको विकट राक्सिराङ गाउँपालिकाले बितेको ६ वर्षयता टोलटोलसम्म सडक विस्तार गरिसकेको छ । पूर्वपश्चिम राजमार्गको मनहरीबाट गाउँपालिका केन्द्र चैनपुरसम्म ६ किलोमिटर सडक कालोपत्रेसमेत भइरहेको छ ।

