हेटौंडा–जनपक्षीय काम गरेर गाउँबासीबाट स्याबासी बटुलिरहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले एक महिनाको अवधिमा करिब १२ सय जनालाई गाउँघरमै पुगी सेवा दिएको छ । वैशाख महिना लागेपछि विभिन्न ४ ठाउँमा एकीकृत सेवा सञ्चालन गरेको गाउँपालिकाले गाउँटोलमै पुगी स्वास्थ्य उपचारदेखि कृषि पशुको सेवासम्म उपलब्ध गराएको हो ।
गाउँपालिकाले घरघरमै पुगी बिरामी जाँच, स्वस्थ्य, कृषि तथा अन्य सेवा दिएपछि गाउँबासी दंग बनेका छन् । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गत आर्थिक वर्षदेखि सुरु गरेको गाउँपालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा दिने कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रमको निरन्तरताको क्रममा गाउँपालिकाले वैशाख १० गते १, २ र ३ नम्बर वडालाई समेटेर राक्सिराङ–२ को कुँडुलेमा एकीकृत घुम्ती शिविरको आयोजना गरेको थियो । निश्चित स्थान तोकेर विभिन्न सेवा उपलब्ध गराइएकोमा अशक्तलाई भने घरमै पुगेर स्वास्थ्य उपचार र निशुल्क औषधि उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङलगायत जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घरघरमा पुगी उनीहरुको लालनपालनको अवस्था बुझ्ने र उनीहरुलाई पोषिलो खानेकुरा वितरणका साथ सम्मानसमेत गरे ।

एकीकृत शिविर अन्तर्गत वैशाख १४ गते राक्सिराङ ६ को काँकडा स्वास्थ्य चौकी र श्री जुरेथुम प्राविमा कार्यक्रम गरिएको थियो । वैशाख १८ गते राक्सिराङ –४ को वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा दिइएको थियो भने वैशाख २१ गते राक्सिराङ–९ को कालिका मावि, अठारेमा केन्द्र बनाई एकीकृत शिविर गरेको थियो । शिविरमा सहकारी जागरण कार्यक्रमअन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रवद्र्धन कार्यक्रम, कृषि विकास कार्यक्रमअन्तर्गत मिनी ट्रिलर, कम्वाइन मिल, टनेल प्लाष्टिकलगायत सामाग्री वितरण, पशु सेवा कार्यक्रमअन्तर्गत पशु औषधि तथा घाँसको बिउ वितरण कार्यक्रम, सामान्य स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण र अपाङ्गता जाँच र परिचयपत्र वितरण कार्यक्रम गरिएको थियो । सुत्केरी महिलालाई विभिन्न स्वास्थ्यवद्र्धक सामाग्रीसमेत वितरण गरिएको थियो ।






