जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन सिमिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई १० हजार रकम बराबरको पुस्तक हस्तान्तरण गरेका छन् ।
विद्यार्थीको पठन संस्कृति विकास गर्न तथा विद्यालय तहबाटनै प्रतिस्पर्धी अब्बल जनशक्ति तयार पार्न विद्यालयले थालनी गर्नलागेको अभियान आफ्नो जन्मदिनबाट नै शुरु गरेको अध्यक्ष वस्ताकोटिले बताए । विद्यालयले कक्षाकोठामा रहेका बुक कर्नरहरुमा शिक्षक, विद्यार्थी, अभिभावक वा शुभेच्छुकहरुबाट पुस्तक संकलन गरी पठन संस्कृतिको विकास गर्दै आएको छ । पैसा हैन पुस्तक दान गरौं भन्ने पवित्र उद्देश्यका साथ अभियान शुरु गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौंलागाईले कार्यक्रममा बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गोविन्द दुलाल, सहायक प्रअ रामआशिष मण्डल, पूर्व प्रधानाध्यापक नमराज अर्याल, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा एवम् तहगत संयोजक लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । पुस्तक हस्तान्तरणपछि अध्यक्ष वस्ताकोटीले संक्षिप्त मन्ततव्य राखेका थिए ।
पठन संस्कृतिकै कारण जनप्रिय माध्यमिक विद्यालयले पछिल्लो समय प्रतिस्पर्धात्मक विभिन्न प्रतियोगिताहरुमा एकपछि अर्को सफलता हात पार्न सफल भएको साहित्य तथा वौद्धिक विभाग संयोजक संप्रस पौडेलले बताए । बौद्धिक र सञ्चारका क्षेत्रमा जनप्रियले प्रतिस्पर्धात्मक रुपमा सफलता हात पार्ने उनको तर्क छ ।


