Search
Close this search box.

बालविकास शिक्षकको तलब प्राथमिक सरह बनाउन शिक्षक संगठन बागमती प्रदेशको माग

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिति बागमती प्रदेशले विभिन्न १० बुँदे माग सहित सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयमा आज ज्ञापनपत्र बुझाएको छ । देश संघीयतामा गएपछि प्रदेश तहले शिक्षकका पेशागत संस्थासंग आवश्यक सहकार्य गरेर मात्रै नीतिगत निर्णयहरु गर्नुपर्ने समेत माग उनीहरुको छ ।

ज्ञापनपत्रमा बालविकास शिक्षकलाई प्राथमिक तहसरह तलव सुविधा उपलब्ध गराउनुपर्ने, विद्यालय कर्मचारीलाई प्रक्रिया पुर्याएर न्यूनतम तलवसहित स्थायी गरिनुपर्ने माग गरिएको छ । तुरुन्त संवाद समिति निर्माण गरी आफूहरुको सुनुवाई गरिनुपर्ने, दिवा खाजाको रकम १५ बाट ३० गरिनुपर्ने लगायतका मागहरु राखिएको छ । वैज्ञानिक दरबन्दी मिलान गरी माथिल्लो योग्यता भएका दीर्घसेवी शिक्षकहरुलाई तहगत बढुवा गरिनुपर्ने समेत उनीहरुको माग रहेको छ । संघीय शिक्षा ऐन नबन्दै स्थानीय सरकार र संघीय सरकारबाट भएका शैक्षिक ज्यादतीहरुलाई समेत बन्द गरिनुपर्ने माग रहेको छ ।

बागमती प्रदेश समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ एवम् महासचिव पूर्णबहादुर पुरीसहितको सिङ्गो समितिले मन्त्रालय पुगी माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो । परिचयात्मक कार्यक्रमसहित ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा माननीय मन्त्री मुक्तानले शिक्षकको जायज मागहरु पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेश समिति अध्यक्ष सहितको टोलीले मन्त्रालयपछि शिक्षा विकास निर्देशनालयमा पुगी महानिर्देशकलाई समेत ज्ञापनपत्र बुझाएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए  । 

कार्यक्रममा शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, पेशागत महासंघ बागमती अध्यक्ष रामचन्द्र थापा, संगठन दोलखा अध्यक्ष सञ्जय खड्का लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan