नमूना माविका रुपमा हेटौंडा १६ को जनप्रिय माविले चर्चा बटुलीरहेकै अवस्थामा विद्यालयले गणित विषय प्रयोगशालालाई अद्यावधिक सहित स्तरोन्नति शुरु गरेको छ । गणित विषयमा अमूर्त धारणाले सिक्न कठिनाई हुने विद्यार्थीलाई प्रयोगशालाका मूर्त सामग्रीहरुबाट सिक्न सिकाउ सहज भएको प्रधानाध्यापक भूपेन्द्र चौलागाईको तर्क छ ।
बढ्दो आधुनिकीकरण र प्रविधिमैत्री सिकाइका लागि जनप्रिय नमूना माविले केही वर्ष यता विषयगत प्रयोगशालाबाट मनग्गे चर्चा बटुलेको छ । देशभरबाट जनप्रिय नमूना मावि अध्ययन अवलोकन भ्रमणमा आउने शिक्षक विद्यार्थीको भीडले त्यस कुराको पुष्टि गरेको छ । त्यसो त नमूना विद्यालय जनप्रिय मावि भ्रमण गर्न गत शैक्षिक वर्षमा भरतपूर महानगरपालिकाका शिक्षा प्रशासक महेन्द्र पौडेल सहितको टोली आईपुग्यो । टोलीमा महानगरभरीका प्रधानाध्यापक र सरोकारवालाहरु थिए । आफ्नो विद्यालयमा पनि यस्ता विषयगत ल्याव अत्यावश्यक रहेकोले आवश्यक सहजीकरणका लागि जनप्रियसंग उनीहरुले प्राविधिक सहयोगको अपेक्षा समेत गरे ।
त्यसो त सिन्धुली जिल्लाबाट जनप्रिय आइपुगेको भ्रमण टोलीले पनि जनप्रिय गणित विषय प्रयोगशाला र मिडिया कक्षको खुलेरै प्रशंसा गरे । चर्चा मात्र होईन जनप्रियले त्यसको गरिमालाई अझै बढाउन निरन्तर यस्ता प्रयास र मेहनत पनि गरेको छ । जनप्रियमा मिडिया कक्ष,गणित विषय प्रयोगशाला, विज्ञान प्रयोगशाला, बालीविज्ञानद प्रयोगशाला लगायतका प्रयोगात्मक कक्षहरु आकर्षणको केन्द्र रहेका छन् ।

पछिल्लो केहीदिन यता जनप्रिय माविमा जनप्रियका शिक्षक विद्यार्थी संगै संगिता पुडासैनी, सविता अधिकारी, कमल दाहाल र उद्धव गौतम लगायतका गणित विषय प्रशिक्षक सहजकर्ताबाट शैक्षिक सामग्री अध्यावधिक एवम् निर्माण कार्यशाला सञ्चालन भइरहेको छ ।


