Search
Close this search box.

कृष्ण आदर्शमा स्वास्थ्य र पोषणसम्बन्धी प्रदर्शनीसहित सकियो साताव्यापी कार्यक्रम

हेटौंडा– हेटौंडा–९ मा रहेको कृष्णआदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल (कसेस) ले विद्यार्थीको शैक्षिक विकासमा स्वास्थ्य र पोषणबारे सचेतना जगाउने उद्धेश्यले सुरु गरेको साताव्यापी स्वास्थ्य र पोषण कार्यक्रम मंगलबार सकिएको छ । मंगलबार विद्यालयमा विद्यार्थीले स्वास्थ्य र पोषणसम्बन्धी प्रदर्शनी गर्दै साताव्यापी कार्यक्रमको अन्त्य गरेको हो ।

मंगलबार विद्यालय परिसरमा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरु, स्वस्थ र पोषणयुक्त खानेकुराबारे प्रदर्शनीसहित सचेतना कार्यक्रम, कुन खानेकुरा कति, कसरी र कहिले खाने भन्नेबारे ज्ञान प्रदान गरिएको थियो । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीले फरकफरक समूह बनाई पोषण र स्वास्थ्यबारे प्रदर्शनीका साथ सचेतना अभिवृद्धि कार्यक्रम गरेको विद्यालय सञ्चालक नविन केसीले बताए ।

विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने उद्धेश्यका साथ विद्यालयले जेठ १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको थियो । एक सातासम्म विद्यालयमा सरसफाई, विद्यार्थीको स्वास्थ्य जाँच, औषधि वितरण, पोषण र स्वास्थ्यबारे सचेतनालगायतका कार्यक्रम गरिएको थियो ।

साताव्यापी कार्यक्रमअन्तरगत जेठ १ गते पहिलो दिन कक्षा सरसफाई, व्यक्तिगत सरसफाईको कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन बुधबार किशोर अवस्थामा पोषणको महत्वबारे अभिमुखीकरण गरिएको थियो । त्यस्तै जुकाको औषधि वितरण गर्नुका साथै हात धुने तरिकाबारे सिकाइएकोसमेत थियो । विद्यार्थीको उचाई र तौल मापन गर्ने, पोषणको महत्वबारे वडा क्लिनिकबाट सहजकर्ता बोलाई अभिमुखीकरण, पोषण र स्वास्थ्यबारे हाजिरीजवाफ र निबन्ध प्रतियोगिता जस्ता रचनात्मक कार्यक्रम पनि गरिएको विद्यालयले जनाएको छ ।
सरकारले नै हरेक वर्ष जेठ १ देखि ७ गतेसम्म विद्यालय स्वास्थ्य र पोषण सप्ताह मनाउने कार्यक्रम तय गरेकोमा कृष्ण आदर्शले यस वर्षदेखि वार्षिक क्यालेन्डरमै राखेर सप्ताहव्यापी कार्यक्रम गरेको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan