हेटौंडा–देशभर आगामी जेठ १३ गतेबाट पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । सोही अभियानअन्तर्गत मकवानपुरमा पनि जेठ १३ गतेदेखि १९ गतेसम्म पोलियोविरुद्धको आईभीपी खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
२०७३ वैशाखदेखि २०७५ भदौसम्म भएको खोप अभावका बेला खोप लागाउन छुटेका बालबालिकालाई लक्षित गरी पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । मकवानपुरमा २०७३ देखि २०७५ सालमा जन्मिएका करिब २२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको मिजारले बताए ।
बुधबार हेटौंडामा खोप अभियानबारे पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डाक्टर सस्मिता बास्तोलाले पोलियो भाइरसबाट सर्ने संक्रामक रोग लाग्न नदिनका लागि पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बताइन् । पोलियो रोग लागेका मानिसलाई पक्षघात हुने र मृत्युसमेत हुनसक्ने भएकाले कोही पनि बालबालिकालाई नछुटाई यो खोप लगाउनुपर्ने उनले बताइन् । ज्वरो आएको, क्यान्सर भएका र जटिल रोगका ओैषधि खाइरहेकाहरुले खोप लगाउन नहुने उनले बताइन् ।
नियमित खोप अभियानका क्रममा जन्मेको १४ हप्ता र ९ महिनाको फरकमा पोलियोविरुद्धको खोप दिइरहिएको भएता पनि २०७३ देखि २०७५ सालसम्म जन्मेका बालबालिकाले सो खोप नपाएकाले यसपाला सोही बालबच्चालाई लक्षित गरी खोप अभियान चलाइएको जनाइएको छ । जनस्वास्थ्य कार्यालयले जेठ १३ गतेदेखि विद्यालयमा केन्द्रित गरी खोप अभियान चलाउनेछ । विद्यालयमा खोप लगाउन छुटेकाको लागि स्वास्थ्य संस्थामा जेठ २६ गतेसम्मै खोप लगाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख मिजारले बताए ।

