Search
Close this search box.

मनहरीमा आन्तरिक स्राेतबाटै बन्याे १९ कराेडकाे पुल, ३ पुल एकैदिन उद्घाटन, २ निर्माणाधीन

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको तीन वटा पक्की पुलको शनिबार उद्घाटन गरिएको छ । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये भर्खरै सम्पन्न भएका ३ वटा पुलको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । ३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लम्बाईको रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको हो । त्यस्तै २ स्पानको ट्वाङ्ग्रा खोला पनि ६४ दशमलव १५ मिटर लामो रहेको छ । उक्त पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो । 

३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेका हुन् । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो ।

गाउँपालिकाकै बजेटमा सोही सडक खण्डमा अन्य २ वटा पुल भने निर्माणाधीन अवस्थामा रहेका छन् । २०७७ सालमा एकैदिन ठेक्का सम्झौता गरिएको ५ वटा पुल मध्ये ३ वटा पुल निर्माण सकिएको भएता पनि २ वटा पुल निर्माणको काम भने जारी नै छ । हिराचन बानियाँ जेभीसँग ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । त्यस्तै भैरव नारायणम् जेभीसँग ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुलको काम करिब ६५ प्रतिशत सकिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । पाँच वटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाबाट करिब साढे ३३ करोड रुपैयाँ खर्च हुनेछ । 

हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले एकैसाथ ५ वटा पुल निर्माण सुरु गरेको थियो । सो सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नती हुँदा त्यस क्षेत्रका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पुल निर्माणसँगै मनहरीका चार वटा वडाका बासिन्दा विशेष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । जनप्रतिनिधिले जनताको आवश्यकता र पीरमर्कालाई मध्येनजर गर्दै काम गर्नुपर्ने उनको भनाइ थियो । जनप्रतिनिधिले बोल्नेभन्दा काम गरेर जनताको मन जित्नुपर्ने उनको भनाइ थियो । बाँकी रहेको २ वटा पुलमध्ये ठाडोखोलाको पुल पनि अबको एक महिनाभित्रै सम्पन्न गर्न आफूले पहल गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । 

कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेती, पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्षहरु शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरलगायतले पुल निर्माणसँगै स्थानीयबासीको दैनिक जीवनयापन सहज हुने विश्वास व्यक्त गरे । पुल निर्माणसँगै सडकको स्तरोन्नतीमा पनि पनि ध्यान दिनुपर्ने उनीहरुले धारणा राखे । 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan