Search
Close this search box.

तरुण नेता भेटवाल भन्छन्: हेटौंडा अस्पताललाई प्रतिष्ठानमा लैजानु गलत

हेटौंडा– नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नेता राजेश भेटवालले हेटौंडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान गलत हुने बताएका छन् । तेपाल तरुण दलका केन्द्रीय सदस्य रहेका भेटवालले सोमबार एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौंडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता प्रक्रियाताका प्रतिष्ठानमा अध्ययनरत स्वास्थ्यकर्मीलाई प्रयोगात्मक कार्य गर्नको लागि आफ्नै अस्पताल निर्माण नभएसम्म हेटौंडा अस्पताललाई प्रयोग गरिने मकवानपुरका राजनैतिक दलहरु, नागरिक समाज र मकवानपुरवासीलाई बुझाईएकोमा पछि षड्यन्त्रपूर्वक ढंगबाट ऐन जारी गरी सदाको लागि हेटौंडा अस्पताललाई संघीय कानूनको वर्खिलाप जाने गरी बागमती प्रदेश सरकारबाट अस्पतालको चल, अचल मानव संशाधनलगायतका सम्पूर्ण सम्पती कब्जामा लिने काम भएको भन्दै भेटवालले ऐनमा व्यवस्था गरेका विभिन्न दफाहरु संशोधन गरी निर्णय सच्चाउन र हेटौंडा अस्पताललाई हेटौंडा अस्पतालकै अस्तित्वको रुपमा कायम राख्न माग गरे ।

‘यस्ता खाले गैरजिम्मेवारीपूर्ण निर्णय नसच्याए नेपाल तरुण दलले कडा भन्दा कडा आन्दोलन गर्ने जानकारी गराउँदै सम्पूर्ण तरुण साथीलगायत राष्ट्रको सम्पती हेटौंडा अस्पताललाई माया गर्ने मकवानपुरवासी दाजुभाई तथा दिदिबहिनीहरु आन्दोलनका लागि तयार रहन पनि हार्दिक अनुरोध गर्दछौं।’ भेटवालले विज्ञप्तिमा भनेका छन् ।

उनले राज्यको सम्पति र आमनागरिकको अधिकार माथि कुचेष्टा नगर्न आग्रह समेत गरेका छन् । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेकोको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने बताएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan