हेटौँडा–बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।
प्रदेशको कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार (४० दशमलव ४४ प्रतिशत), पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार (५७ दशमलव २३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड (२ दशमलव ३२ प्रतिशत) रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आगामी वर्षको लागि एक अर्ब ८३ करोड १३ लाख ५३ हजार रुपैयाँ बढी आय व्यय अनुमान गरेको हो । चालु वर्षमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
आगामी वर्ष प्रदेशको खर्च बेहोर्ने स्रोतमध्ये कर तथा राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजश्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख र चालु वर्षको सञ्चित कोष र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारले आगामी वर्ष सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्नेगरी २२ अर्ब ६४ करोड विनियोजन गरेको छ ।