Search
Close this search box.

१६ प्रतिशत घट्यो हेटौंडाको बजेट, सामाजिक क्षेत्र र पूर्वाधार विकास प्राथमिकतामा

हेटौंडा– हेटौंडा उपमहानगरले सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट नगरसभामा पेश गरेको छ । आइतबार १५ औं नगरसभामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । उपमेयर बानियाँले पेश गरेको आगामी आर्थिक वर्षको आय व्ययको अनुमान चालु वर्षको तुलनामा करिब १६ प्रतिशत कम हो ।

चालु आर्थिक वर्षमा संशोधित अनुमानसहित उपमहानगरले २ अर्ब ९० करोड ६२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । संघ र प्रदेशको घट्दो अनुदानका साथै प्रतिकुल राष्ट्रिय अर्थतन्त्रका कारण देखाउँदै उपमेयर बानियाँले चालु वर्षको तुलनामा आगामी वर्ष ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ कम कम बजेट प्रस्ताव गरेका हुन् । उपमहानगरको आगामी वर्षको खर्च बेहोर्ने स्रोतमध्ये संघीय अनुदान करिब ५० प्रतिशत रहेको छ । संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख र प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । उपमहानगरको आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ ।

उपमेयर बानियाँले सामाजिक विकासतर्फ ९३ करोड १९ लाख र पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा अवासलगायततर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ छुट्याइएको बताए । आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तिय व्यवस्थापनतफ ४० करोड ६२ लाख र सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ छुट्याइएको छ ।

हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण, पदमपोखरी मुख्य सडक विस्तार, सहकारी सडक मर्मतलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । नगरबासीलाई १० हजार लिटरसम्मको खानेपानी निशुल्क गरेको उपमहानगरले खानेपानीको महसुल भुक्तानीका लागि २ करोड ८ लाख छुट्याएको छ ।

कृषि विकासतर्फका उन्नत बालीको विउ तथा मिनिकिट खरिद, विषादी खरिद तथा वितरण, साना सिँचाइ कार्यक्रम, ल्याव सञ्चालन, कृषिमा युवा लक्षित कार्यक्रम, यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम, आकस्मिक बाली क्षतिपूर्ति कार्यक्रम, अदुवा बेसार, पिँडालु, सखरखण्ड तथा तरुल प्रवद्र्धन कार्यक्रम, कोदोको समर्थन मूल्य निर्धारण लगायतका योजना तथा कार्यक्रम ल्याइएको छ । सो कार्यक्रम कार्यान्वयनको लागि २ करोड ४ लाख बजेट विनियोजन गरिएको उपमेयर बानियाँले बताए ।

पर्यटन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख बजेट छुट्याएको उपमहानगरले संस्कृति प्रवर्द्धनअन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जिर्णोद्वारका लागि १ करोड १६ लाख विनियोजन गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan