Search
Close this search box.

कैलाशकाे नीति तथा कार्यक्रम: बाल बिवाह न्युनीकरण र चेलीकाे उच्च शिक्षामा प्राेत्साहन

हेटाैंडा- मकवानपुरकाे कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षमा बाल बिवाह न्युनीकरणदेखि बालिकाहरुलाई उच्च शिक्षामा प्राेत्साहन गर्ने नीति लिएकाे छ । गाउँमा व्याप्त बाल बिवाहलाई न्युनीकरण गर्न विगतका वर्षहरुदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे गाउँपालिकाले आगामी वर्ष माैजुदा कानुनलाई संशाेधन गरी परिस्कृत र परिमार्जन गर्ने नीतिसहित आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएकाे छ ।

साेमबार गाउँसभाकाे १४ ओैं अधिवेशनमा अध्यक्ष लाेक मुक्तानले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिकाको सीमान्तकृत एवं लक्षित वर्गको परिवारमा बाल विवाहलाई निरुत्साहित गर्न र महिलाहरुको उच्च तहको शिक्षा प्राप्त गर्ने संख्यात्मक परिमाणमा बढोत्तरी गर्न तर्फ ध्यान केन्द्रित गरिने बताए । कक्षा १२ उत्तीर्ण गरी कानुनले ताेकेकाे उमेर पुगेर बिवाह गर्ने चेलीलाई प्राेत्साहनस्वरुप नगदसहित सम्मान गर्ने नीतिलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिएकाे छ ।

विद्यालयका बालबालिका तथा किशोर किशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फूटन गर्न, आफ्नो अधिकार र कर्तव्य सम्बन्धी विषय, गाउँपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार लगायतका समसामयिक विषयमा वहस तथा अन्तरक्रिया गर्न अध्यक्षसँग किशोर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएकाे छ ।

गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका किशोरी विद्यार्थीहरुलाई यौनजन्य हिंसा तथा बाल दुर्व्यवहारबाट बच्न र त्यस्ता क्रियाकलापहरुको प्रतिकार्य गर्न सक्षम बनाउन किशोरी सुरक्षा तथा आत्मरक्षा सीपहरु सम्बन्धी तालिम प्रदान गर्ने नीति पनि गाउँपालिकाले लिएकाे अध्यक्ष मुक्तानले बताए ।

भाैगाेलिक रुपले विकट गाउँपालिकामा अशिक्षा र गरिबीका कारण हुने कुपाेषण न्युनीकरणमा पनि ध्यान दिएकाे छ । गर्भवती र सुत्केरी पाेषण पणरवर्धन तथा रक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरिने गाउँपालिकाले जनाएकाे छ । लक्षित वर्ग र विपन्न नागरिककाे आर्थिक स्तर सुधार गर्न आय आर्जनका कार्यक्रम, महिला उद्ममीकाे विकास गर्न ग्रामीण स्वराेजगार कार्यक्रम सञ्चालन गर्ने याेजना पनि गाउँसभामा अध्यक्ष मुक्तानले सुनाए ।  सुत्केरी गराउन स्वास्थ्य संस्था आउजाउ गर्न निःशुल्क एम्बुलेन्स सेवा, लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमाकाे कामलाई पनि गाउँपालिकाले प्राथमिकता दिएकाे छ ।

फलफूल, दूध र मासुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित नगद नगद अनुदान कार्यक्रम पनि गाउँपालिकाले ल्याएकाे छ । एक घर एक धारा, एक घर एक शाैचालय जस्ता जीवनस्तर सुधारका काममा पनि गाउँपालिकाले ध्यान दिएकाे छ । प्रदेश सरकारसँग समन्वयमा गाउँपालिकाका ठुला आयाेजनामध्यकाे चुनिया नामटार भाल्टार भार्ता सडक स्तराेन्नती गर्ने याेजना पनि गाउँपालिकाकाे छ । संघीय सरकारद्धारा सञ्चालित गैरिगाउँ, गाेगने पकने डाँडाखर्क सडक सम्पन्न गर्न पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । एक भन्दा बढी वडाहरु जाेड्ने र ठुला प्रकृतिका सडक आयाेजनाहरु निर्माणमा बजेट विनियाेजन गरिने पनि जनाइएकाे छ ।


कैलाश गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम विस्तृतमा हेर्नुहाेस् ।

– प्रदेश सरकार तथा गाउँपालिकाको लागतमा गाउँपालिकाको मूख्य सडक चुनियाबजार-नामटर-भाल्टार-कालिकाटार-भार्ताको स्तरोन्नति एवं निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ । साथै प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त सडकको कालोपत्रे तथा सल्याव ढलान गर्न पहल गरिनेछ ।

– संघीय सरकारद्वारा सञ्चालनमा रहेको गैरीगाउँ- गोगने- पकनी- डाँडाखर्क मोटरबाटो निर्माण कार्य शीघ्र सम्पन्न गर्ने सम्बन्धित निकायसँग आवश्यक पहल गरिनेछ ।

– गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय जोड्ने सडक सञ्जालको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालनमा ल्याउने व्यवस्था मिलाइनेछ। भारी वर्षा, सुख्खा पहिरो लगायतका विपदबाट आईपर्ने सडक अवरोध तत्काल हटाई शीघ्र यातायता सेवा सूचारु गर्ने प्रवन्ध मिलाईनेछ ।

– गाउँपालिकाबाट एक भन्दा वढी वडाहरु जोड्ने र ठूला प्रकृतिका सडक आयोजनाहरु निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने नीति लिइनेछ ।

गाउँपालिकाको सीमित साधन र स्रोतलाई मध्यनजर गर्दै अति आवश्यक सडक निर्माणको लागि बजेटको सुनिश्चितता गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

– गाउँपालिका भित्र रहेका सडकको मर्मत सम्भार, नदीनाला तथा खोल्चीहरुमा कजवे निर्माण तथा ह्युमपाइप जडान गरी यातायात सञ्चालनको उचित व्यवस्था मिलाइनेछ। साथै गाउँपालिकामा उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै विकास साझेदारहरुसँग साझेदारी गरी पूर्वाधार निर्माणको कार्य सञ्चालन गरिनेछ ।

– गाउँपालिका तथा विकास साझेदारहरुको सहयोगमा निर्माण हुने भवन लगायतका संरचनाहरु बालमैत्री, अपाङ्गमैत्री बनाईनेछन् ।

– रोजगारी सिर्जनाका लागि स्थानीय जनशक्ति परिचालन गर्ने ध्येयकासाथ स्थानीय श्रम र सीपको उच्चतम प्रयोग हुने गरी पूर्वाधार निर्माणमा मेसिन उपकरणको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय श्रम र सीप उपयोग हुने किसिमका योजना तथा कार्यक्रम सञ्चालनमा ल्याइनेछ।

– स्वच्छ र सुलभ खानेपानीको उपलब्धता, आजको आवश्यकता अभियान अन्तर्गत गाउँपालिकाबासीलाई स्वच्छ र सफा खानेपानी सुविधा उपलब्ध गराउन संघसंस्थाहरुसँगको साझेदारीमा खानेपानी योजनाहरु निर्माण गरी योजनाको दिगोपना कायम गर्न सम्बन्धित उपभोक्तालाई हस्तान्तरण गर्ने नीति अवलम्बन गरिनेछ। यसरी खानेपानीको व्यवस्था गर्दा सन् २०३० सम्म स्वच्छ खानेपालीमा सबै पालिकावासीहरुको पहुँच पुर्याउने गरी सेवा विस्तार गर्न गाउँपालिकाले एक घर एक धारा नीति लिई खानेपानी तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

– घरमा शैचालय नभएका गरिव, विपन्न तथा सीमान्तकृत वर्गहरुको सहभागिता र स्वामित्वमा एक घर एक शौचालय निर्माण गरी सरसफाइ प्रवर्द्धनमा वृहत सचेतीकरण गरिनेछ ।

– गाउँपालिकाबाट सञ्चालन गरिने विकास निर्माण सम्बन्धी योजनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीहरुको गुणस्तर सुनिश्चितताको साथै विकासको दिगोपनाका लागि अनुगमन तथा मूल्यांकन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ ।

– गाउँपालिकाक्षेत्रभित्र भरपर्दो र सुरक्षित यातायात सञ्चालन गर्न सवारीसाधनका निम्ति उपयुक्त स्थानमा बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य प्रारम्भ गरिनेछ ।

– गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक, व्यक्तिगत भूमिलाई प्रचलित कानून बमोजिम स्पष्ट र वस्तुनिष्ठ तवरले वर्गीकरण गरी सोको अभिलेख व्यवस्थित बनाईनेछ । मूख्य सडकको क्षेत्राधिकार भित्र एवं अनियन्त्रित र अव्यवस्थित रुपमा निर्माण गरिएका घर तथा टहरा हटाईनुका साथै त्यसरी सडको क्षेत्राधिकार भित्र संरचनाहरुको निर्माण गर्ने कार्यमा – नागरिकलाई निरुत्साहित गरिनेछ। गाउँपालिका क्षेत्रभित्र निर्माण गरिने घर टहरा जस्ता संरचनाहरु गाउँपालिकाको स्वीकृत वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम नक्सा पास गराई निर्माण गरिने र निर्माण भैसकेका संरचनाहरुको अभिलेखिकरण गरिने व्यवस्था मिलाईनेछ ।

– गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी तथा पर्ती जग्गा एवम् सार्वजनिक जग्गा र सम्पदाहरुको संरक्षण गरी त्यस्ता जग्गा एवम् सम्पदाहरुको अभिलेखलाई व्यवस्थित बनाइनेछ ।

– भूमिको वर्गीकरणलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउन, भूमिको समूचित उपयोग, प्रभावकारी व्यवस्थापन गरी अधिकतम र दिगो लाभ हासिल गर्न भू-उपयोग क्षेत्र वर्गीकरण गरी सो लाई थप व्यवस्थित बनाईनेछ ।

– आधुनिक सभ्यताको मानक नै सुविधायुक्त र व्यवस्थित सहर भएको तथा विकासको यथार्थ स्वरुप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थतालाई बोध गर्दै गाउँपालिकाको कुनै एक वडामा संभाव्यता अध्ययन गरी एकीकृत जग्गा विकाससम्बन्धी कार्यक्रम आगामी आर्थिक वर्षमा प्रारम्भ गर्ने गरी सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

– गाउँपालिकाभित्रका सडकका लागि प्रयोग भएका जग्गा सार्वजनिक हुन बाँकी रहेको र सडकको रुपमा व्यक्तिको जग्गा उपयोग हुँदै आएको तर सो जग्गाको मालपोत कर व्यक्तिले तिर्दै बुझाउँदै आएकोमा सडकको रुपमा प्रयोग भएका त्यस्ता जग्गाहरुको एकीन गरी लगत कट्टा गर्ने व्यवस्था आगामी आर्थिक वर्षदेखि मिलाईनेछ ।

– कृषि वस्तु उत्पादनको बजारीकरण तथा उपभोक्तालाई सुपथ मूल्यमा कृषि उपज उपलब्ध गराउन मासिक हाटबजार सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था मिलाईनेछ ।

– गाउँपालिकाभित्र एकघर एक करेसाबारी प्रवर्द्धनका लागि उचित सहुलियतमा प्रत्येक इच्छुक घरपरिवारलाई तरकारी विउविजन उपलब्ध गराईने नीति लिइनेछ ।

– गाउँपालिका क्षेत्रभित्रका विभिन्न वडाहरुका जमिनमा गर्न सकिने खेतीको सम्भाव्यता अध्ययन गरी कृषि पकेट क्षेत्रको रुपमा विकास गरिदै लगिनेछ ।

– गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुले पालेको पशुधनबाट हुने नोक्सानीलाई कम गर्न पशु वीमामा अनुदानको व्यवस्था गरिनेछ ।

– व्यवसायिक तथा अन्य किसानको पशु तथा कृषि बाली प्रवर्द्धनका लागि आवश्यक पर्ने आधुनिक कृषि प्रणालीको विकासमा नियमित सुपरिवेक्षण गर्न र बालीमा लाग्ने रोगको पहिचान गरी सो को निदान गर्न किसानलाई निःशुल्क कृषि तथा पशु प्राविधिक सेवा प्रभावकारी रुपमा प्रदान गरिनेछ ।

– गाउँपालिकाका विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी लघुउद्यम कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिनेछ । गाउँपालिकाको रोजगार सेवा केन्द्रमा बेरोजगार सूचीमा दर्ता भएका बेरोजगारहरुलाई आफ्नो कृषि खेतीमा असर नपर्ने गरी प्रधानमन्त्री रोजगार अन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालन गरी न्यूनतम १०० दिनको रोजगारको प्रवन्ध मिलाईनेछ ।

– किसानलाई उत्पादनशील बनाउन, कृषि उत्पादन र उत्पादनकत्व अभिवृद्ध गरी स्थानीय आयआर्जनमा आत्मनिर्भर भई स्थानीय आर्थिक विकास (Local Economic Development) गर्नका लागि फलफूल, दुग्ध, मासुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन उत्पादनमा आधारित नगद अनुदान कार्यक्रमको थालनी गरिनेछ ।

– निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायमुखी खेती प्रणालीमा रुपान्तरण गर्न किसानलाई उत्साहित गरिनेछ । कृषकहरुलाई वितरण गरिने कृषि सामाग्री तथा विउविजनका लागि आवश्यक अनुदानको व्यवस्था गरी साना सिँचाई कार्यक्रमलाई प्रोत्साहन गरिनेछ। स्थानीय मौलिक ज्ञान र प्रविधिको संरक्षण र सम्वर्द्धन गरी कृषकलाई अग्र्यानिक खेतीतर्फ आकर्षित गरिनेछ। साथै खेती प्रणालीमा सामयिक सुधार गर्ने क्रममा हाते ट्रयाक्टरको प्रयोगलाई निरन्तरता दिइने छ ।

– फलफूलका विरुवा घर वरपर, वातावरण देखिन्छ हराभरा भन्ने नारा स्वरुप प्रत्येक घरपरिवारले आफ्नो घर आँगनमा कम्तिमा २ वटा सौन्दर्यात्मक फूल एवम् फलफूलका विरुवा अनिवार्य रुपमा रोपण गर्नुपर्ने व्यवस्थालाई आगामी आर्थिक वर्षमा अभियानको रुपमा सञ्चालन गरिनेछ ।

– गाउँपालिकाभित्र सञ्चालित सहकारी संस्थालाई नियमन र व्यवस्थापन गर्न आवश्यक कानूनको तर्जुमा गरी व्यवस्थित रुपमा अभिलेखिकरण गरिनेछ। सहकारीका पदाधिकारीहरुलाई सहकारीको सञ्चालन तथा व्यवस्थापनका विषयमा तालीम प्रदान गरिनेछ ।

– गाउँपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गरिनेछ । आन्तरिक पर्यटकको चहल पहल बढी हुने क्षेत्रमा होमस्टे (Home stay) को अवधारणा विकास गरी स्थानीय नागरिकलाई सो सम्बन्धी तालीम प्रदान गरी स्थानीय उत्पादनको खपत बढाई स्थानीयवासीको आर्थिकस्तर उकास्ने र रोजगारी सिर्जना गर्ने प्रवन्ध मिलाईनेछ ।

– कैलाश गाउँपालिकाको वडा नं. २ स्थित निर्माणाधीन जिपलाईनको निर्माण कार्य सम्पन्न पश्चात सो जिपलाईन र डाँफे मुनाल पार्कको उचित व्यवस्थापन गरी त्यस क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटन हबको रुपमा विकास र विस्तार गरिनेछ ।

– स्थानीय हस्तकला सामाग्रीहरुको उत्पादन तथा पानी घट्ट संरक्षण र आरन सुधार जस्ता कार्यहरुलाई प्रोत्साहन गरिनेछ ।

– वैदेशिक रोजगारबाट स्वदेश फर्केका यूवाहरुले विदेशमा आर्जन गरेका पूँजी, प्रविधि, सीप, अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले यूवाहरुलाई उत्प्रेरित गरी कृषि लगायतका व्यवसायमा आकर्षण गर्न रिटनी उद्यमशीलता कार्यक्रम का लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।

– गाउँपालिकाका स्थानीय नागरिकहरुमा श्रमदान गर्ने संस्कृतिको विकास गरी आफ्नो टोल, वस्ती, वडा क्षेत्रमा रहेका मठ मन्दिर, चौतारा, खोला किनार, बजार क्षेत्र सार्वजनिक स्थलको सरसफाइ गर्न तथा सडक गोरेटोबाटो निर्माण विद्यालय वा सार्वजनिक भवन निर्माणका लागि सामाग्री संकलन एवं निर्माण कार्यमा स्वतःस्फूर्त रुपमा श्रमदान जुटाई परिचालन गर्न उपाध्यक्षसँग जनश्रमदान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

– गाउँपालिकाभित्रका युवाहरुलाई सीपमूलक तालीम मार्फत उद्यमशील बनाई दक्ष र आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षबाट नमूना युवा उद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।

– कैलाश गाउँपालिकाका विद्यालय जाने उमेर समूहका कुनै पनि वालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले सबै बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान कार्यक्रममा सघाउ पुर्याउन शिक्षक, अभिभावक एवं सामुदायको परिचालन गरिनेछ।

– कैलाश गाउँपालिका स्थायी ठेगाना भएका वा स्थायी बसोवास गर्ने गरिव, जेहेन्दार, सीमान्तकृत, अल्पसंख्यक, प्राविधिक छोरी बुहारी, दलित तथा अपाङ्गता भएका विद्यार्थीहरुका लागि गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्तिलाई एकीकृत रुपमा व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गबाट लक्षित वर्गसम्म पुर्याउनुका साथै गाउँपालिकाको जेहेन्दार एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई उचित आर्थिक सहायता सहितको छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिईनेछ।

– गाउँपालिकामा एसइइ परीक्षा, प्लस टुको अन्तिम परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकलाई पुरस्तकृत गर्ने नीति लिइनेछ ।

– सामुदायिक विद्यालयका शिक्षकहरुका लागि नियमित तालीम प्रदान गर्नुका साथै शैक्षिक सामाग्रीको उत्पादन र वितरणमा जोड दिइनेछ । बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र विकाओं कार्यक्रमलाई सफलीभूत पार्न अनाथ र टुहुराको शैक्षिक अभिवाकत्व गाउँपालिकाले लिनेछ ।

– सामुदायिक विद्यालयहरुको भौगोलिक अवस्थिति, विद्यार्थी संख्या, शिक्षकको दरबन्दी एवं स्थानीय नागरिकको आवश्यकता समेतलाई मध्यनजर गर्दै विद्यालयको Right Sizing, Merge गर्ने नीति अवलम्वन गरिनेछ ।

– सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर गुणस्तर बनाउनका लागि विद्यार्थीको अभावमा Right Sizing, Merge भएका विद्यालय क्षेत्रका विद्यार्थीहरुलाई समेत ध्यानमा राखी आवसीय सुविधा सहितको कुनै एक विद्यालयलाई कैलाश नमूना विद्यालय (Kailash Model School) को रुपमा विकास र विस्तार गर्न नीतिगत पहल गरिनेछ ।

– विद्यालयले स्थानीय उत्पादन गरी उत्पादित उपजको उपयोग हुनेगरी विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय दिवाखाजा उपलब्ध गराउन इच्छुक विद्यालयलाई गाउँपालिकाले विद्यालयको प्रस्तावनाको आधारमा स्थानीय उत्पादन प्रवर्द्धन गर्न शत प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।
गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा आधारभूत प्राथमिक स्वास्थ्य सामाग्री व्यवस्थापनको सुनिश्चितता गरिनेछ ।

– नेपालको संविधानले प्रदत्त गरेको मौलिक हक अन्तर्गत शिक्षाको हकबाट किशोरीहरु बञ्चित नहुन भन्ने मनसायले विद्यालयका किशोरीहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण कार्यलाई व्यवस्थित र थप प्रभावकारी बनाउँदै लगिनेछ । व्यक्तिगत स्वास्थ्य र सरसफाईका विविध पक्षबारे किशोरीहरुलाई सुसूचित गर्न स्यानिटरी प्याडको प्रयोग र व्यवस्थापनका लागि आवश्यक अभिमूखीकरणको प्रवन्ध मिलाइनेछ ।

– समय सापेक्षित रुपमा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको क्षमता विकास गरी शिक्षण क्रियाकलापलाई अव्वल, प्रभावकारी र आधुनिक बनाउन शिक्षक तालिमको व्यवस्था गरिनेछ ।

भौतिक पूर्वाधारको अवस्था नाजुक रहेका सामुदायिक विद्यालयहरुको पहिचान गरी आवश्यक भौतिक पूर्वाधार निर्माण, घेरावार, फर्निचर व्यवस्थापन लगायतका कार्यलाई प्राथमिकता दिइनेछ ।

– सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन रिक्त रहेका शिक्षकहरुको दरवन्दीको प्रकृति बमोजिम पदपुर्ति गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षको प्रारम्भसँगै आवश्यक कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।

– गाउँपालिकाका सबै सामूदायिक विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म क्रमशः स्थानीय पाठ्यसामाग्री तथा पुस्तक तयार गरी अध्यापन गराउने कार्य आगामी आर्थिक वर्ष देखि थालनी गरिनेछ ।

– खेलकुद क्षेत्रको विकास र विस्तार गरी स्थानीय खेलकुद प्रेमी युवाहरुलाई जिल्ला तथा राष्ट्रियस्तरको खेलाडी निर्माणमा टेवा पुर्याउने उद्देश्यले विगत देखि – आयोजना गरिदै आएको अध्यक्ष कप फुलवल तथा उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाई सञ्चालन गरिनेछ ।

– विद्यालयका वालवालिका तथा किशोर किशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फूटन गर्न, आफ्नो अधिकार र कर्तव्य सम्बन्धी विषय, गाउँपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार लगायतका समसामयिक विषयमा वहस तथा अन्तरक्रिया गर्न अध्यक्षसँग किशोर किशोरी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

– गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका किशोरी विद्यार्थीहरुलाई यौनजन्य हिंसा तथा बाल दुर्व्यवहारबाट बच्न र त्यस्ता क्रियाकलापहरुको प्रतिकार्य गर्न सक्षम बनाउन किशोरी सुरक्षा तथा आत्मरक्षा सीपहरु सम्बन्धी तालिम प्रदान गर्ने नीति लिइनेछ ।

–

– गाउँपालिकाका विभिन्न स्थानहरुमा परापूर्वकाल देखि प्रदर्शन गरिदै आएको ऐतिहासिक मेलाहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका कुण्ड, गुफा तथा गुम्बा जस्ता सम्पदाहरुको संरक्षणमा विशेष ध्यान दिइनेछ। परम्परादेखि प्रचलनमा रहेको तर हालको अवस्थामा लोप हुने क्रममा रहेका मारुनी, घाटु नाच एवं पञ्चे बाजा, खैचडी भजन लगायतको संरक्षण र प्रवर्द्धन गर्न यूवा वर्गलाई तालिम तथा प्रशिक्षण दिने प्रवन्ध मिलाइनेछ ।

– अल्पसंख्यक तथा सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र विकासका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा टेवा पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित वर्गलाई विशेष प्राथमिकता दिईनेछ ।

– आर्थिक रुपले विपन्न नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन तथा उद्यमशीलताको विकास गरी  आत्मनिर्भर बनाउन अध्यक्षसँग विपन्न कार्यक्रमलाई आगामी आर्थिक वर्षमा थप सुदृढ बनाई कार्यान्वयनमा ल्याईनेछ ।

– बाल विवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियानको रुपमा विगतका आर्थिक वर्ष देखि चेली प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

– गाउँपालिकाको सीमान्तकृत एवं लक्षित वर्गको परिवारमा बाल विवाहलाई निरुत्साहित गर्न र महिलाहरुको उच्च तहको शिक्षा प्राप्त गर्ने संख्यात्मक परिमाणमा वढोत्तरी गर्न तर्फ मौजुदा कानूनलाई संशोधन गरी थप परिष्कृत र परिमार्जन गर्दै कार्यान्वयमा ल्याईनेछ ।

– ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत आर्थिक रुपमा विपन्न र निश्चित उमेर पुगेका ज्येष्ठ नागरिकहरुको पहिचान गरी गाउँपालिकाले  201

जाडो मौसममा न्यानो कपडा तथा पौष्टिक खाद्य वस्तु प्रदान गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

– कैलाश गाउँपालिकाको स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान गरिदै आएको प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै लगिनेछ । स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी तथा औषधीजन्य उपकरणहरुको व्यवस्थापनलाई थप चुस्त बनाईनेछ ।

निर्माणाधीन १० वेडको अस्पताललाई प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाईनेछ। आगामी आर्थिक वर्षमा सम्भव भएसम्म अस्पतालका लागि आवश्यक यन्त्र उपकरण, दरबन्दी बमोजिम चिकित्सक तथा अन्य स्वास्थ्य कर्मचारीको व्यवस्थापन गरी अस्पताल सञ्चालनमा ल्याउन प्रयत्न गरिनेछ ।

गाउँपालिका क्षेत्रभित्रका गर्भवती एवं सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको नियमित चेकजाँच स्वास्थ्य संस्थाहरुबाट गरी निजहरुको स्वास्थ्य अवस्थामा सुधार ल्यानुका साथै गाउँपालिकाको Zero Home Delivery नीतिलाई सफलीभूत बनाउन नियमित रुपमा स्वास्थ्य संस्थामा आई स्वास्थ्य चेकजाँच गर्ने गर्भवती एवं सुत्केरी महिलालाई प्रत्येक महिना प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती तथा सुत्केरी पोषण प्रवर्द्धन तथा रक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।

गाउँपालिकाका स्थायी वसोवास गर्ने नागरिकहरु विरामी पर्दा उपचारको लागि अस्पताल लैजान न्यूनतम शुल्कमा गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाईनुका साथै गर्भवती  महिलाहरुलाई निजहरुको वासस्थानबाट वडाको स्वास्थ्य चौकी वा गाउँपालिकाको अस्पतालसम्म सुत्केरी गराउन आउन जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । यस्तो निःशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाको स्वास्थ्य चौकी वा अस्पतालको रिफरमा अन्यत्र बाह्य अस्पतालमा सुत्केरी गराउन जाने महिलाहरुको लागि समेत प्रदान गरिनेछ ।

सीमान्तकृत, आर्थिक विपन्न वर्ग लगायत गाउँपालिकाबासीहरुलाई लाभ हुने गरी कडा रोगहरुको समेत निःशुल्क परीक्षण गर्ने गरी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिनेछ ।

जनसंख्याको वितरण, भौगोलिक अवस्थिति एवम् आवश्यकताका आधारमा गाउँपालिकाक्षेत्रमा स्थानीय लगानी अभिवृद्धिमार्फत दिगो, सुरक्षित र भरपर्दो स्थानीय स्वास्थ्य प्रणालीको विकास गरिनेछ । चिकित्सक, स्वास्थ्यकर्मी, बिरामीबीच असल र सुमधुर सम्बन्ध कायम राख गाउँपालिका स्वास्थ्य आचारसंहिता तर्जुमा गरी स्वास्थ्य सेवाको गुणस्तरलाई सुनिश्चित गरिनेछ ।

सीमान्तकृत, अल्पसंख्यक तथा दलित समूदायमा बढ्दो बालविवाह रोकथाम तथा न्यूनीकरण र क्रमशः उन्मुलन गर्नका लागि विद्यालय लगायत गैरसरकारी तथा सामाजिक संघ संस्थासँग सहकार्य गरी वस्तीस्तरमा जनचेतना अभिवृद्धि गरिनेछ ।

एच.आई.भी. सङ्क्रमित, बेचबिखन प्रभावित, हिंसापीडित लैङ्गिक अल्पसंख्यकहरुको सामाजिक पुर्नएकीकरणका लागि जीविकोपार्जन सुधारमा आवश्यक सहयोग गरिनेछ ।

यस गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा गर्ने प्रवन्धका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।

गाउँपालिकाले विपन्न तथा गरिव घरपरिवार, अशक्त, अपाङ्गता भएका व्यक्ति (रातो कार्ड भएको), गाउँपालिकामा स्थायी वसोवास गर्ने सीमान्तकृत वर्ग, एकल महिला परिवार, दीर्घरोगी एवं दैनिक औषधी सेवन गर्नुपर्ने घरपरिवार, मानसिक रुपमा अशक्त, लैङ्गिक हिंसाबाट पीडित, सुनौलो हजार दिनका आमा भएका घर परिवार, कडा जटिल र गम्भीर प्रकृतिका रोग लागेका र क्षय रोगी घर परिवारलाई निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य वीमा गरिदै आएकोमा आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

अति विपन्न, सीमान्तकृत र अल्पसंख्यक महिलाहरुलाई विशेष प्राथमिकता दिई ग्रामीण महिलाहरुको सीप क्षमता र दक्षता अभिवृद्धिमार्फत महिला उद्यमीको विकास गर्न ग्रामीण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।

सीमान्तकृत, दलित, जनजाती तथा आदिवासी एवं आर्थिक रुपमा विपन्न नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

विभेदरहित, समृद्ध र न्यायपूर्ण समाजको स्थापनाका लागि सबै वर्ग, जातजाति, लिङ्ग तथा पिछडिएका क्षेत्रको समान सहभागिता, अग्रसरता र निर्णय प्रक्रियामा सहभागिताको भूमिकालाई सुनिश्चित गर्न आवश्यक रहेको सन्दर्भमा सामाजिक समावेशीकरण मार्फत सबैले आत्म सम्मान बोध हुने वातावरण निर्माण गर्न सबै क्षेत्र तथा संरचनाहरूमा मूलप्रवाहीकरणको माध्यमबाट समावेशी शासन पद्धतिलाई संस्थागत गरिनेछ ।

सफा, हरियाली, स्वच्छ, समुन्नत गाउँपालिका भन्ने नारालाई सार्थक बनाउन विकास निर्माणका कार्यमा समुदाय परिचालनको महत्वलाई आत्मसात गर्दै सरसफाइ तथा स्वच्छता अभिवृद्धि, हरियाली र पूर्वाधार विकासजस्ता कार्यहरुमा प्रत्येक वस्ती, टोललाई समेटी टोलबासीलाई जिम्मेवार बनाउन टोल विकास संस्थाहरु गठन गरी परिचालन गरिनेछ ।

बाक्लो वस्ती तथा बजार क्षेत्रमा उत्सर्जन हुने फोहरमैलाको व्यवस्थापन गरी स्वच्छ वस्ती, समाज निर्माणमा सरोकार पक्ष एवं नागरिकहरुलाई सघसंस्थासँगको समन्वयमा ससचेतीकरण गरिनेछ ।

गाउँपालिकाबाट प्रदान गरिने सेवा, कार्यान्वयन गर्नुपर्ने विकास योजनाहरु तथा प्राथमिकता दिनुपर्ने क्षेत्रलाई बोधगम्य, दिगो विकासमैत्री र वस्तुगत बनाईनेछ ।

गाउँपालिकावाट प्रदान गरिने सेवा प्रवाहको बजारीकरण गरी त्यस्ता सेवाहरुप्रति आम गाउँपालिकाबासीहरुको सहज पहुँच अभिवृद्धि गर्न र सेवा सुविधाको बारेमा नागरिकहरुमा सुसूचित गराउनका लागि वडाहरुमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिनेछ ।

बजार अनुगमनलाई प्रभावकारी र सघन बनाउनुका साथै नागरिकहरु माझ सचेतना अभिवृद्धि गरी खाद्य सामाग्रीहरु खरिद गर्दा सोको Expiry Date हेरेर मात्र सामान लिने बानीको विकास गरिनेछ। म्याद नाघेका, अखाद्य वस्तु विक्री वितरण गर्ने पसलहरुलाई जरिवाना गरी दण्डित गरिनेछ ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको विवरणहरु अद्यावधिक गरी सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट रोक्नुका साथै बञ्तितीमा परेका वास्तविक व्यक्तिको पहिचान गरी लाभग्राहीमा समावेश गर्न सहजीकरण गरिनेछ। साथै अपाङ्गगता भएका व्यक्ति, अशक्त वृद्धवृद्धा एवं जेष्ठ नागरिकहरुलाई बैंकसँग समन्वय गरी टोल वस्ती तथा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाईनेछ ।

गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा गैर सरकारी संघसंस्थाबाट सम्पादन गरिने सेवा प्रवाह एवं कार्यहरुमा पारदर्शीता र जवाफदेहिता कायम गर्न नियमित रुपमा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरी समग्र सुशासन कायम गरिनेछ ।

सबै वडाहरुमा सुविधा सम्पन्न वडा कार्यालय भवनको व्यवस्थापन गर्ने उद्देश्य अनुरुप संघीय तथा प्रादेशिक निकाय वा जिल्ला समन्वय समितिसँगको लागत साझेदारीमा स्रोत सुनिश्चित गरी वडा कार्यालयहरुको नयाँ प्रशासकीय भवन क्रमशः निर्माण गर्ने कार्यको प्रारम्भ गरिनेछ ।

न्यायिक समितिबाट सम्पादन हुने कार्यमा मेलमिलाप पद्धतिलाई आबद्ध गरी थप प्रभावकारी बनाइनेछ। न्यायिक समितिका लागि आवश्यक पर्ने पूर्वाधारको विकास गरी यसको संस्थागत क्षमतामा सुदृढीकरण गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरुलाई गाउँपालिकाको आवश्यकता र स्रोत पूर्ति गर्ने संवाहकको रुपमा परिचालन गरिनेछ । साथै त्यस्ता संघसंस्थाहरुसँग लागत साझेदारीमा योजना तथा कार्यक्रम सञ्चालन गरी दिगोपना कायम गरी स्थानीय तह र संघ संस्थाहरुवीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गरिनेछ ।

नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय सरकारको एकल अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्वारा निर्दिष्ट अधिकारक्षेत्र बमोजिम गाउँपालिकाको समग्र सामाजिक, आर्थिक, भौतिक पूर्वाधार लगायत सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाको स्वीकृत दरबन्दी बमोजिम पदहरुमा प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी पदपूर्ति गरिनेछ ।

गाउँपालिकाका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार एवं दैनिक सम्पादन गर्नुपर्ने कार्यहरुको प्रकृयागत, कानूनी र नीतिगत विषयका सन्दर्भमा थप ज्ञान प्रदान गर्न तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी एवं अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधामा गाउँपालिकावासीहरुको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति दिलाईनेछ ।

गाउँपालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाहका गतिविधिको नागरिक समक्ष जानकारी गराउने, नागरिकका गुनासो सम्वोधन, पृष्ठपोषण प्राप्ति र सुधार एवं समग्र पारदर्शिता र जवाफदेहिता कायम गरी सुशासन प्रवर्द्धन गर्न समुद्ध कैलाश रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।

गाउँपालिकाको आन्तरिक राजस्व तथा स्रोतको समेत विश्लेषण गरी कार्यसम्पादन सूचक र अपेक्षित नतिजा प्राप्तिका आधारमा सम्बन्धित विषय क्षेत्रका कर्मचारीलाई प्रोत्साहन गरिने नीति अवलम्बन गरिनेछ ।

गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्था लगायतका कार्यालयमा रही उत्कृष्ट कार्य सम्पादन एवं सेवा प्रवाह गर्ने, नागरिक सेवामा समर्पित कर्मचारीहरुको पहिचान गरी उत्प्रेरित गर्न, मनोवल बढाउन कैलाश सेवा पुरस्कारद्वारा कर्मचारीहरु पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

गाउँपालिकाको कार्यालय वा कुनै एक वडाको भूगोलमा कार्यरत कर्मचारीलाई निश्चित अवधि पश्चात चक्रिय रुपमा अनुमानयोग्य सरुवा गर्ने प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याईनेछ ।

स्थानीय सेवाका कर्मचारीले निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम अवकास हुँदा प्राप्त गर्ने निवृत्तभरण, औषधी उपचार लगायतका सुविधा उपलब्ध गराउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ (१) बमोजिम एक अवकास कोष स्थापना गरिनेछ र सो कोषका लागि सालबसाली रुपमा आवश्यक बजेट विनियोजन गर्ने नीति लिईनेछ ।

विगत वर्षहरुदेखि जिम्मेवारी सर्दै आएका पेश्की बेरुजुलगायत अन्य बेरुजुहरुको अद्यावधिक जानकारी तथा अभिलेखीकरण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनुका साथै आवश्यक प्रमाणहरु जुटाई  प्रचलित कानून बमोजिम बेरुजु फस्यौंटमा ध्यान दिई शुन्य बेरुजु गाउँपालिका रुपान्तरण अभियान सफलीभूत बनाउन पहल गरिनेछ ।

गाउँपालिकाको राजस्व प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि प्रविधिमा आबद्ध गरिनेछ । प्रगतिशील करको सिद्धान्त अवलम्वन गरी करको दायरा फराकिलो बनाउँदै आन्तरिक राजस्व अभिवृद्धि गरिनेछ। आन्तरिक राजस्व वृद्धि गर्न सम्बन्धित वडाका जनप्रतिनिधि तथा कार्मचारीलाई थप जिम्मेवारी र जवाफदेही बनाईनेछ ।

गाउँपालिकाबासीहरुलाई समयमै कर तथा राजस्व तिर्ने बानीको विकास गर्नका लागि प्रचार, प्रसार तथा सन्देशमूलक सूचना सम्प्रेषण गरिनेछ । अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट एवं सहुलितको व्यवस्था गरिनेछ ।

गाउँपालिका तथा वडाहरुको स्वीकृत वार्षिक योजना तथा कार्यक्रमहरु मध्ये उपभोक्ता समितिबाट कार्यान्वयन गरिने योजना तथा कार्यक्रमहरुको उपभोक्ता समिति गठन प्रकृयालाई पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाई लागत सहभागितामा जोड दिईनेछ। साथै उपभोक्ता समितिलाई योजना सम्झौता गर्दा र भुक्तानी लिने क्रममा अपनाउनु पर्ने प्रशासनिक प्रक्रियाको बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट गाउँपालिकावासीका आधारभूत आवश्यकताहरु परिपूर्ति भई जीवनस्तरमा गुणात्मक सुधार हुँदै

जाने, गाउँपालिकामा उपलब्ध स्रोत साधनको उच्चतम उपयोगबाट गाउँपालिकावासीको आर्थिक उन्नतिमा टेवा पुग्ने र वञ्चितिमा परेका वर्ग, क्षेत्र तथा समुदायहरुको विकासमा मूलप्रवाहीकरण भई समावेशिताको प्रवर्द्धनमार्फत स्थानीय लोकतन्त्रको सबलीकरण हुने विश्वास लिएको छु ।

प्रस्तुत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा गाउँपालिकाका सबै तह र तप्काबाट योगदान हुने विश्वास लिएको छु।

अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्दा सहयोग र समन्वय गर्नुहुने उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, विषयगत समितिका संयोजक तथा सदस्यहरु, वडा अध्यक्षज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु. समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मीहरु तथा सम्पूर्ण गाउँपालिकावासीहलाई धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु ।

धन्यवाद ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan