हेटौंडा–हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा भोलि असार १५ गते हेटौंडामा स्क्र्याम्वल कार्यशाला हुने भएको छ । शाब्दिक ज्ञानका साथै समस्या समाधान सीप, जोखिम बहन तथा व्यवस्थापन गर्ने सीपलगायत ज्ञान र सीपको विकास गराउने खेलको रुपमा रहेको स्क्र्याम्वल खेलको आधारभूत ज्ञान तथा नियमबारे जानकारी गराउने उद्देश्यले कार्यशाला गर्न लागिएको जनाइएको छ ।
स्क्र्याम्वल क्लव मकवानपुरको संयोजनमा हेटौंडाको रोयल पार्टी प्यालेसमा हुन लागेको कार्यशालामा हेटौंडाका अधिकांश विद्यालयका साथ बकैया, मनहरीलगायतका विद्यालयका विद्यार्थी र शिक्षकको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यशालामा कक्षा ४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीमध्येबाट प्रति विद्यालय ३ जना विद्यार्थी र एक शिक्षकलाई सहभागिताको लागि पत्राचार गरिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत बाल जागृति विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । स्क्र्याम्वल बोर्डमा खेलिने एक रोचक शब्द खेल हो । जसमा चेसमा जस्तै देखिने बाकसमा अक्षरहरु मिलाएर शबद र शब्दहरुको जालो बनाइन्छ । यस शब्द खेलको माध्यमबाट विद्यार्थीले विशेष गरी हिज्जेमा धेरै सुधार गर्न सक्ने स्क्र्याम्वल क्लव मकवानपुरका अध्यक्ष विवशजंग थापाले जानकारी दिए । नेपालमा नेपाली र अंग्रेजीका अतिरिक्त गणित स्क्र्याम्वलको पनि अभ्यास भइरहेको उनले बताए ।
स्क्र्याम्वल कार्यशालामा सहभागी हुने सबै विद्यालयलाई खेलको नियमहरुको बारे ज्ञान, खेल्ने तरिकालगायत सिकाएर प्रत्यक विद्यालयलाई स्क्र्याम्वल बोर्डसमेत प्रदान गरिने विद्यालयले जनाएको छ । आगामी दिनमा स्क्र्याम्वल प्रतियोगिता गराउने उद्देश्यले हाल कार्यशालाको आयोजना गरिएको विद्यालयले जनाएको छ । आजभन्दा करिब ९० वर्षअघि नै पश्चिमाहरुले यस खेललाई सुरु गरेको भएता पनि नेपालमा भने करिब १० वर्षअघि मात्रै प्रतियोगिताका रुपमा सुरु भएको पाइन्छ । नेपालका करिब ४० जिल्लामा यो खेल परिचित भइसकेको बताइएको छ । हेटौंडाको बालजागृति बोर्डिङ स्कुलका छात्र प्रसिद्ध तिमल्सिनाले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्र्याम्वल प्रतियोगिता खेलिसकेका छन् ।

