हेटौंँडा– २०८० सालको एसईई परीक्षामा हेटौंडा–९ मा रहेको प्रगति माध्यमिक विद्यालयका ७५ दशमलव ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एसईई परीक्षामा सहभागी कुल १०७ जना विद्यार्थीमध्ये ८१ जना उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयतर्फ उत्तीर्ण दरको आधारमा प्रगति मावि एसईई परीक्षामा मकवानपुर जिल्ला प्रथम भएको विद्यालयले दावी गरेको छ । परीक्षामा ३ दशमलव ६ जिपिएमाथि ग्रेड प्वाइन्ट ल्याउने विद्यार्थी ७ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ ग्रेड प्वाइन्ट ल्याउनेको संख्या १८ जना, २ दशमलव ८१ देखि ३ दशमलव २ जिपिए ल्याउनको संख्या २९ जना र २ दशमलव ४१ देखि २ दशमलव ८ जिपिए ल्याउनेको संख्या २७ जना रहेको विद्यालयका शिक्षक सुदिप पौड्यालले जानकारी दिए । कुल परीक्षा दिनेमध्ये २६ जना अनुत्तीर्ण भएकोमा १६ जनाले ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने उनले बताए ।
विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको ठुलो मेहनतका कारण आफूहरु सामुदायिक विद्यालयतर्फ जिल्लामै सर्वोत्कृष्ट हुन सफल भएको भन्दै विद्यालय व्यवस्थापन समितिबाट भर्खरै निवर्तमान भएका अध्यक्ष प्रदिप पराजुलीले खुसी व्यक्त गरे । उत्तीर्ण सबै विद्यार्थीलाई उनले बधाईसमेत ज्ञापन गरे ।

