हेटौंडा– नेपाली भाषा शिक्षक समिति नगर कार्यसमितिले हेटौंडाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयका नेपाली शिक्षकलाई व्याकरण र विधागत शिक्षण विधिबारे कार्यशाला गरेको छ ।
शुक्रबार हेटौंडा–४ स्थित नवोदय शिशु सदनमा भएको कार्यशालामा नेपाली व्याकरणमा रहेका द्विविधा, भाषा शुद्धशुद्धिबारे स्पष्ट पारिएको थियो । विधागत शिक्षणमा नेपाली भाषाअन्तर्गत कथा, कविता, निवन्धलगायत विधा कसरी शिक्षण गराउने भन्नेबारे शिक्षकलाई स्पष्ट पारिएको थियो ।
कार्यशालामा ध्रुव भुजेलले व्याकरणसम्बन्धी सहजीकरण गरेका थिए भने केशव सञ्जेलले विधागत शिक्षणसम्बन्धमा सहजीकरण गरेका थिए । कार्यशालामा नगरभित्रका ४५ वटा विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको नेपाली भाषा शिक्षक समिति हेटौंडा नगर समितिका सचिव सिएम रिमालले बताए । समितिका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा कार्यशाला भएको थियो ।
समितिले आगामी दिनमा पनि नेपाली भाषा शिक्षणलाई थप प्रभावकारी बनाउन शिक्षकको क्षमता अभिवृद्धिबाट विद्यार्थीको सिकाई उपलब्धी बढाउने काममा सक्रिय रहने सचिव रिमालले बताए ।

