हेटौंडा–विद्यार्थीमा शाब्दिक ज्ञानका साथै समस्या समाधान सीप, जोखिम बहन तथा व्यवस्थापन गर्ने सीपलगायत ज्ञान र सीपको विकास गराउने उद्देश्यले हेटौंडामा स्क्रावल कार्यशालाको आयोजना गरिएको छ ।
हेटौंडा–२ मा रहेको बाल जागृति इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्रावल क्लव मकवानपुरको संयोजनमा हेटौंडा र आसपासका विद्यालयका विद्यार्थीको सहभागितामा शनिबार कार्यशाला गरिएको हो । कार्यशालामा ५७ वटा विद्यालयबाट २ सय ५६ बढी विद्यार्थीका साथै शिक्षकहरुको पनि सहभागिता रहेको थियो । बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मुक्तानले कार्यशालाको उद्घाटन गरिन् । नेपाल स्क्राबल क्लबका अध्यक्ष केशव पराजुली र केन्द्रीय प्राविधिक संयोजक अर्जुन पाण्डेले स्क्रावल कार्यशालामा सहजीकरण गरेका थिए ।
कार्यशालापश्चात ५७ विद्यालयलाई स्क्राबल बोर्ड हस्तान्तरण गरिनुका साथै अन्तराष्ट्रियस्तरमा खेलमा सहभागिता जनाइसकेका ७ जनाका साथै केन्द्रीय अध्यक्ष पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।
आयोजक विद्यालयका प्रिन्सिपल विनोद सुवेदीका अनुसार मकवानपुरका प्रसिद्ध तिमल्सिना, सैनिक आवासीय मावि पोखराका २ जना, चितवन १, बारा १ र पूर्वी नवलपरासीका १ जनालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यशालामा स्क्राबल के हो, यसका नियम के हुन्छन्, के कसरी खेलिन्छ जस्ता उत्सुकतापूर्ण प्रश्नहरूको समाधान गरिएको छ ।
कार्यशालामा बकैया, मनहरी, राक्सिराङलगायतका पालिकाहरूका माध्यमिक तथा आधारभूत विद्यालयहरू समेतका कक्षा ४ देखि १० का विद्यार्थीको सहभागिता रहेको थियो ।
स्क्रावल बोर्डमा खेलिने एक रोचक शब्द खेल हो । जसमा चेसमा जस्तै देखिने बाकसमा अक्षरहरु मिलाएर शबद र शब्दहरुको जालो बनाइन्छ । यस शब्द खेलको माध्यमबाट विद्यार्थीले विशेष गरी हिज्जेमा धेरै सुधार गर्न सक्ने स्क्रावल क्लव मकवानपुरका अध्यक्ष विवशजंग थापाले जानकारी दिए । नेपालमा नेपाली र अंग्रेजीका अतिरिक्त गणित स्क्रावलको पनि अभ्यास भइरहेको उनले बताए । आगामी दिनमा स्क्रावल प्रतियोगिता गराउने उद्देश्यले हाल कार्यशालाको आयोजना गरिएको विद्यालयले जनाएको छ । आजभन्दा करिब ९० वर्षअघि नै पश्चिमाहरुले यस खेललाई सुरु गरेको भएता पनि नेपालमा भने करिब १० वर्षअघि मात्रै प्रतियोगिताका रुपमा सुरु भएको पाइन्छ । नेपालका करिब ४० जिल्लामा यो खेल परिचित भइसकेको बताइएको छ । हेटौंडाको बालजागृति बोर्डिङ स्कुलका छात्र प्रसिद्ध तिमल्सिनाले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्रावल प्रतियोगिता खेलिसकेका छन् ।