कुपोषण निराकरणमा कैलाश गाउँपालिकाको सक्रियता (भिडियो सामाग्रीसहित)

शरीरलाई आवश्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्थालाई कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ । बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो । रोगग्रस्त जनशक्तिले कुनै पनि मुलुकको आर्थिक विकासको गतिलाई प्रभावित गर्छ । आर्थिक विकासको गति प्रभावित हुनु भनेको समग्र मुलुकको सबै खाले विकास प्रक्रियामा बाधा पुग्नु हो ।

विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान गर्नेतर्फ मकवानपुरको कैलाश गाउँपालिकाले ध्यान केन्द्रित गरिरहेको छ । कैलाश गाउँपालिकाले बालबालिका, सुत्केरी तथा गर्भवती महिलामा हुने कुपोषण निराकरणका लागि योजनावद्ध ढंगले अभियान चलाएको छ । विकटताकै कारण अशिक्षा र गरिबीको चपेटामा परिरहेका समुदायमा कुपोषणको समस्या बढ्दै जान थालेपछि त्यसको पहिचान र उपचारको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ देखि अभियान नै सुरु गरेको छ ।

कडा शीघ्र कुपोषण भएकाहरुलाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी उपचार गरिएको छ भने मध्यम शीघ्र कुपोषण भएकाहरुलाई नियमित रुपमा पौष्टिक आहार उपलब्ध गराएको छ । ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेको गाउँपालिकाले गाउँका हरेक टोलमा पुगी कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको थियो । सो अभियानअन्तर्गत गाउँपालिकामा चालु आर्थिक वर्षमा ८२ जना कुपोषित महिला र बालबालिका भेटिएका छन् । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शिघ्र कुपोषित रहेका थिए । कुल संख्यामध्ये कुपोषित बालबालिका ४८ छन् भने २६ जना गर्भवती र सुत्केरी महिलामा कुपोषण भेटिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयम्सेविका १० वटै वडामा परिचालन गरी एक हप्ते अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला÷बालबालिकाको खोजी गरिएको थियो ।

गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट कुपोषित महिला र बालबालिकालाइ पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरुलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम लगिएको गाउँपालिकाले जनाएको छ । कुपोषित गर्भवती सुत्केरीका लागि गाउँपालिकाले हरेक बार खाना चार कार्यक्रमअन्तर्गत अण्डा, क्वाटी, हर्लेक्स, घ्यू, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । त्यस्तै कुपोषित बालबालिकाको लागि पोषण खीर, पोषण खिचडी, पोषण हलुवा मासिक रुपमा उपलब्ध गराउँदै आएको छ । उनीहरुले नियमित रुपमा पोषणयुक्त खानेकुरा कसरी सन्तुलन मिलाएर खाने, बालबालिकाको पोषण खीर, खिचडी र हलुवा कसरी पकाउने भन्नेबारे पनि गाउँपालिकाले सम्बन्धित परिवारका सदस्य राखेर अभिमुखीकरण दिइसकेको छ ।

कडा शीघ्र कुपोषणको उपचारको लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । ३ नम्बर वडाको कटुन्जे स्वास्थ्य चौकी, ८ नम्बर वडाको भार्ता स्वास्थ्य चौकी र ७ नम्बर वडाको निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । सबैभन्दा बढी कुपोषित वडा नम्बर ७ मा भेटिएको छ । कुल ८२ कुपोषितमध्ये ७ नम्बर वडामा मात्रै ४७ जना रहेका छन् ।

उपचार केन्द्रमा कडा शीर्घ कुपोषणका सिकिस्त बिरामी भए भर्ना गरेर राखिन्छ, सामान्य भएपछि २ हप्ताका लागि पूर्व तयारीयुक्त उपचारात्मक खाना दिएर पठाउने गरिएको छ । पोषणयुक्त उपचारात्मक खाना नियमित खाएपछि कुपोषण कम हुँदै जाने बताइन्छ ।

गाउँपालिकाले कुपोषणका अलावा महिलाको नियमित गर्भ जाँच, उनीहरुलाई आवश्यक सल्लाह र पोषणसमेत उपलब्ध गराउने गरेको छ ।
स्वास्थ्य मापदण्डअनुसार ५ वर्ष मुनिको बालबालिकाको पाखुराको नाप ११.५ सेन्टिमिटर भन्दा कम भएमा, खुट्टा सुन्निएको र भोक नलाग्ने समस्या देखिएमा त्यसलाई कडा शीघ्र कुपोषण मानिन्छ । साथै ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाम ११.५ देखि १२.५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गरिन्छ । यसैगरी गर्भवती र ६ महिनाभित्रको सुत्केरी महिलाको हकमा पाखुराको नाममा २१ सेन्टिमिरभन्दा कम भएमा कडा शीघ्र कुपोषण मानिन्छ । २१ देखि २५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गर्दै उपचार विधि सुरु गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भौगोलिक हिसाबले विकट गाउँमा व्याप्त अशिक्षा, गरिबी र बाल बिवाहका कारण गाउँपालिकामा कुपोषण बढी रहेको जनप्रतिनिधिहरुको भनाइ छ । गरिबीका कारण सन्तुलित खाना खान नपाउने र सानै उमेरमा बिहे गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवै कुपोषणको सिकार हुने गरेको देखिन्छ ।

गाउँपालिकाले कुपोषितको उपचारका साथै उनीहरुलाई आयआर्जनमुलक काममा जोड्न तरकारीको बिउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कुपोषण पुष्टी भएको घरपरिवारका लागि ८ किसिमका तरकारीका बिउबिजन उपलब्ध गराएको छ । कुपोषित परिवारमध्ये पिछडिएको र सबैभन्दा गरिब परिवार पहिचान गरी २१ परिवारलाई प्रति घर एउटाका दरले बोयर जातको बाख्रा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताउनुभयो ।

पहिचान भएका कुपोषितलाई नियमित रुपमा पोषणयुक्त खानेकुरा उपलब्ध गराएसँगै कुपोषणबाट मुक्ति पाउने क्रममा रहेको र सो कार्यक्रममा गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने जनाएको छ । चालु आर्थिक वर्षमा संघीय सशर्त अनुदानबाट कार्यक्रम चलाइएकोमा आगामी वर्ष संघीय सरकारबाट सो शीर्षकमा कम बजेट भएको र गाउँपालिकाले स्थानीय स्रोतबाट बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका बताउनुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...