हेटाैंडा- आधारभूत तह (कक्षा ४-७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हेटाैंडामा नवाेदय इनाेभेसन सेन्टरले कार्य तयारी गरेकाे छ । १ वर्षे डिप्लोमा कोर्स सञ्चालन गरी कक्षा ४-७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार गर्न लागिएकाे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे छ । तालिममा सहभागी हुनेलाई उचित रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाइएकाे छ ।
बालबालिका केन्द्रित शिक्षण सिकाइलाई जीवन्त बनाउन आवश्यक सहजीकरण गर्दै विद्यालयमा शैक्षिक क्रान्तिको अनुभूति दिलाउने उद्धेश्यका साथ नवाेदय इनाेभेसन सेन्टर स्थापना गरिएकाे तालिम कार्यक्रम प्रमुख नरेन्द्रकुमार नगरकाेटीले जानकारी दिए । उनका अनुसार कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूले भविष्यमा एक सफल शिक्षक बन्ने इच्छाशक्ति छ भने तालिममा सहभागी हुन सक्नेछन् ।
तालिमका लागि शिक्षा दर्शनः प्रगतिशील शिक्षा, भाषा साहित्य शिक्षण, विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण, शारीरिक शिक्षा शिक्षण, सङ्गीत र कला शिक्षण, नृत्य शिक्षण, बालबालिकाको समग्र विकास, सिकाइ उपलब्धी जस्ता विषय निर्धारण गरिएकाे छ ।
प्रशिक्षार्थी शिक्षकले आफूले सिकेका कुरा कक्षामा अभ्यास गर्न लगाइनुका साथै नियमित कक्षा अवलोकन, शिक्षण अभ्यासको अवसर प्रदान गरिने इनाेभेसन सेन्टरले जनाएकाे छ ।
आफूहरुकाे यस कार्यक्रमबाट प्रभावकारी शिक्षकको खोजीमा रहेका विद्यालय, शिक्षण सिकाइमा अवसर खोजिरहेका व्यक्ति र गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकार भएका बालबालिका लाभान्वित हुने कार्यक्रम प्रमुख नगरकाेटीले बताए ।